तरकारी बजारको व्यवस्थापनमा नियमितता र कडाई गर्न आवश्यक : मन्त्री अधिकारी

48

काठमाडौँ, १५ साउन । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौँका सबै तरकारी बजारको व्यवस्थापनमा कडाई गर्न आवश्यक रहेको बताउनुभएको छ ।

मंगलबार कृषि समितिले कालीमाटी फलफूल तथा तरकारी विकास समितिले गरेका कामका सन्दर्भमा आयोजना गरेको कार्यक्रममा उहाँले कालीमाटी तरकारी बजारमा स्थापनाकालदेखि नै प्याकेजिङ व्यापारको तरिका एउटै रहेको भन्दै त्यसलाई परिवर्तन गर्न आवश्यक रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तरकारी दैनिकी चुलोमा पुग्ने चिज हो । हामी तरकारी नभई खाना खान सक्दैनौँ । त्यो कालीमाटी जस्तै अन्य बजार पनि हुन सक्छन् । तर, यसको व्यस्थापनमा नियमितता दिनका साथै कडाई गर्न आवश्यक छ । कालीमाटी बजारमा स्थापनाकालदेखि नै प्याकेजिङ व्यापार गर्ने तरिकामा फरक देखिएको छैन । यसको सुधारको लागि के हुन सक्ला ? कसैले आएर गर्दिने होइन । हामी आफैँले कसरी गर्न सक्छौँ यसतर्फ सोच पुर्‍याउन जरुरी छ ।’

उहाँले सबै तरकारी बजारमा कालीमाटीको जस्तै व्यस्थापन गर्न नसकेको गुनासो गर्दै काठमाडौँ सहरभित्र निजी रुपमा रहेका तरकारी बजारहरुको व्यवस्थापनमा पनि ध्यान दिनु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कालीमाटीबाट तरकारी खाने कुरा काठमाडौँको आधाभन्दा बढी मानिस यसैमा निर्भर छ भन्ने लाग्छ । हामीले सबै ठाउँमा कालीमाटी जस्तै बजार व्यवस्थापन गर्न सकेका छैनौँ । काठमाडौँ कै सहरभित्र पनि निजीरुपमा साना–साना धेरै तरकारी बजार छन् । तर, तिनीहरुको व्यवस्थापन हुन सकेका छैनन् । यसको व्यवस्थापन गर्नका लागि र काठमाडौँ उपत्यका धान्नका लागि हामीले के कस्तो काम गर्न सकिन्छ यो विषयमा पुनःविचार गर्नुपर्छ भन्ने सोच बनाएको छु ।’

कृषि मन्त्री अधिकारीले २०१३ मा नै स्थापना भएको कालीकाटीको विकास समितिको नियम र कानुन पनि अहिलेसम्म एउटै रहेको भन्दै त्यसलाई परिमार्जन गरेर समय सापेक्षित बनाउनु पर्नेमा जोड दिनुभयो ।

साथै, कालीमाटी बजारमा आफ्नो नाममा स्टल लिएर अरुलाई व्यवसाय गर्न दिइएको कुरा सुन्नमा आएको भन्दै त्यसले व्यक्तिको चुलो महँगो हुने भएकाले त्यसरी जनतामाथि अन्याय हुने काम नगर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘२०१३ मा कालीमाटी फलफूल तथा तरकारी विकास समिति स्थापित भएको संस्था, यसको नियम र कानुन परिमार्जन गर्दै लैजानुपर्ने हो, समय सापेक्षित बनाउनुपर्ने हो । तर त्यो समयसापेक्षित हुन नसकेको गुनासो हामीले सुनेका छौँ । र बजारमा केही व्यवसायीले स्टल लिएर आफूले व्यवसाय नगर्ने कुरा पनि सुनेको छौँ । त्यो हो भने बीचमा धेरै पैसा खर्च हुन्छ र व्यक्तिको चुलो महँगो हुन्छ । त्यसमा यसले काम गरेको छ कि ? म आग्रह गर्छु यसरी जनतामाथि अन्याय नहोस् ।’

Share This:
सम्बन्धित खबर
Loading...