०८४ मा एक्लै चुनाव लड्छौँ र जित्छौँ : प्रचण्ड

30

काठमाडौँ, १३ साउन । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहको बताउनुभएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा जारी पार्टी पदाधिकारी बैठकमा उहाँले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ । बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ । यस्तो महत्वपूर्ण समयमा तपाईंहरू पार्टीमा आउनुभएको छ । यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ ।’

उहाँले १८ महिना सरकारको नेतृत्त्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘१८ महिना सरकारको नेतृत्व गर्‍यौँ । हामीले असार २८ गते सरकार छोड्दा हामी विजयी भएर निस्किएका छौँ । सुशासनका पक्षमा विजय भएर निस्किएका छौँ । भ्रष्टहरू मिलेर सरकार बनाएको कुरा बच्चा बच्चालाई पनि थाहा छ । यो कुरा जनतालाई पनि बुझाउन जरूरी छ ।’

पार्टी प्रवेश गर्दै युवा नेता जगदिश दाहालले प्रचण्ड सरकार इतिहासकै सबैभन्दा सफल सरकार भएको र प्रचण्ड सुशासनका नायक भएकाले माओवादी केन्द्रमा प्रवेश गरेको बताउनुभयो ।

कार्यक्रममा नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दल परित्याग गरी मकवानपुर जिल्लाका ६० जनाभन्दा बढी नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...