काठमाडौँ, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले एउटा अब्बल राष्ट्र सेवक कर्मचारीलाई थाहै नदिएर सरुवा गर्न नहुने बताउनुभएको छ ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ढकालले डिआइजी मनोज केसीलाई यो सरकारले कसरी सरुवा गरेको भनेर प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘ विश्वासको मत लिएको दुई दिनभित्र कसरी डिआइजी मनोज केसीलाई सरुवा गरियो ? दुई दिनभित्रमा किन र के कारण, के उद्देश्यका लागि सरुवा गरिएको हो । यसको उत्तर गृहमन्त्रीले दिनुपर्ने हुन्छ ।’
साथै उहाँले यो गठबन्धन कुन उद्देश्यले बनेको हो भनेर समेत प्रश्न गनुभएको छ । उहाँले नयाँ गठबन्धन बन्दै गर्दा अनुसन्धानको घेराभित्र रहेर अनुसन्धान हुनु पर्नेलाई मन्त्री बनाएर पुरस्कृत गरिएको बताउनुभयो ।
उहाँले मानव बेचबिखन र हातहतियारसम्बन्धी मुद्दा खेपेकाहरुलाई मन्त्री बनाएको आरोप लगाउनुभयो ।
‘नयाँ सरकार बन्दै गर्दा यो उद्देश्य हामीलाई थाहा थियो । अहिले श्रृंखला देखिन थाल्या छ । पहिलो श्रृंखला सरकार गठनपछि मन्त्रिमण्डल बन्दा नै देखिया थियो । अनुसन्धानको घेरा वरिपरि रहेकाहरूलाई मन्त्री दिएर पुरस्कृत गरियो । दोस्रो, प्रादेशिक मन्त्री बनाउँदा गण्डा नाइके, अपहरण फिरौती तथा मानव बेचबिखनमा मुद्दा खेपेकालाई रोजियो,’ उहाँले भन्नुभयो ।