कांग्रेस बदनाम हुनथाल्यो, बिपीको सिद्धान्त आत्मसाथ गर्न छाडियो : सुजाता कोइराला

26

काठमाडौँ, १२ साउन । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वमन्त्री सुजाता कोइरालाले कांग्रेसलाई एक तहका नेता तथा कार्यकताहरुले बदनाम गरिरहेको टिप्पणी गर्नुभएको छ ।

कांग्रेस अहिले सिद्धान्तविहीन जस्तै भएको भन्दै बिपी कोइरालाको सिद्धान्त आत्मसाथ गरेमात्र संगठन जोगाउन सकिने पनि बताउनुभयो ।

शनिबार काठमाडौँमा आयोजित ४२औँँ बिपी स्मृति सप्ताहका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ कोइरालाले पुर्खाहरुले संघर्ष गरेर जन्माएको पार्टीलाई एक तहका मानिसहरुले बदनाम गर्न खोजिरहेकाले यसमा सजग हुनुपर्ने धारणा राख्नुभयो ।

‘हामी सबै एक भएर पार्टीलाई बचाउनुपर्छ । कांग्रेस गणेशमान सिंह, सुवर्णशमशेर, किशुनजी जस्ता नेताहरुले जन्माएर गर्भिलो इतिहास बनाएको पार्टीलाई एक तहका मान्छेहरुले बद्नाम गर्न खोजिरहेका छन् । कांग्रेस अहिले बद्नाम भएको छ । अब यसलाई सुधार्ने काम समग्र नेता कार्यकर्ताको हो,’ उहाँले अगाडि भन्नुभयो,‘पार्टीभित्र जसले बिपीको विरासत बोकेको छ, जसले बिपीको सिद्धान्तलाई आत्मसात गरेको छ उसले मात्र यो पार्टीलाई बचाउन सक्छ । मलाई अरु पार्टीबाट कुनै आशा पनि छैन, सरोकार पनि छैन । तर नेपाली कांग्रेस आज सिद्धान्तविहीन भएको छ, पार्टी बचाउन ढिला भइसकेको छ ।’

सिद्धान्तबिना राजीतिक पार्टी बाँच्न नसक्ने बताएकी कोइरालाले कांग्रेस अहिले त्यही अवस्थामा पुगेको बताउनुभयो । डा.शेखर कोइरालाले बिपीको सिद्धान्तलाई आत्मसाथ गरिरहेको उल्लेख गर्दै उहाँले सबैले उनलाई समर्थन गर्नुपर्ने बताउनुभयो ।

‘शेखर कोइरालाले बिपीको सिद्धान्तलाई केही हदसम्म बचाउने काम गर्नुभएको छ । उहाँलाई हामी सबैले खुलेर समर्थन गर्नुपर्छ । बिपीले परिकल्पना गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद केही पनि नरहेको अवस्थामा शेखरले केही हदसम्म त्यो प्रयास गर्नुभएको छ,’उहाँको भनाइ थियो ।

केही दिनअघि मात्र नेतृ कोइराला विशालनगरस्थित डा.शेखरको सचिवालयमा पुगेर भावी सभापतिका रुपमा डा.शेखरलाई अघि बढाउनुपर्ने बताउनुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...