किड्नी दान नपाएको भए मेरो १७औँ पुण्य तिथि भइसक्थ्यो : प्रधानमन्त्री ओली

95

काठमाडौँ, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले दान जीवनसँग सम्बन्धित विषय भएको हुनाले यसको धेरै महत्व भएको बताउनुभएको छ ।

बुधबार डा.अजयक्रान्ति शाक्यको नयाँ कृति ‘बुद्धका मौलिक दर्शन’को लोकार्पण तथा भिक्षु एवम् गुरुमाहरुलाई प्रदान गरिने संघदान कार्यक्रममा उहाँले आफूलाई किड्नीको आवश्यकता भएको समयमा किड्नी दान दिएको कुरालाई जोड्दै दानको असाधारण महत्व भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दान एउटा महान काम हो । जसलाई आवश्यक छ त्यसलाई दान दिनु । मलाई किड्नी फेल भयो किड्नी आवश्यक भयो, मलाई कसैले किड्नी दान दिए, दान लिएको किड्नी राखेर म हिँडिरहेको छु । दान कति महत्वपूर्ण रहेछ भन्ने कुरा त यसले देखिन्छ । किड्नी दान नगरेको भए त, अहिले मेरो १७औँ पुण्य तिथि हुन्थ्यो । दान जीवनसँग सम्बन्धित छ । यसले धेरै महत्व राख्छ ।’

उहाँले जसलाई जुन चिज आवश्यक छ, त्यो चिजको आपूर्ति गरिदिनु दान भएको भन्दै समाजको लागि दान आवश्यक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जसलाई जुन चिज आवश्यक छ, उसलाई त्यो चिजको आपूर्ति गरिदिनु दान हो । त्यसको असाधारण महत्व छ । नचाहिएको मान्छेलाई किड्नी दिनु के काम हुन्छ र त्यसको, हुँदैन त्यसकारण जसलाई के आवश्यक हुन्छ त्यो दिनु ठिक छ ।’

अब विश्व र नेपालबाट कुनैपनि हालतमा बुद्धिजम, बुद्ध दर्शन, बुद्धका उपदेश र शिक्षालाई कमजोर हुन नदिने पनि उहाँको भनाइ छ ।

यसको साथै, उहाँले हवाई दुर्घटनास्थलको निरीक्षण, जलेको हवाई जहाज, कसरी दुर्घटना भयो त्यसको भिडिओ, १८ जना मानिसको निधनको दृश्य हेरेको भन्दै भारी मनका साथ कार्यक्रममा उपस्थित भएको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...