काठमाडौँ, ९ साउन । परराष्ट्रमन्त्री आरजु राणा देउवाले रुसी सेनामा भर्ती नेपालीहरूलाई उद्धार गर्ने सम्बन्धमा निरन्तर पहल भइरहेको बताउनुभएको छ ।
बुधबार प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा मन्त्री राणाले रुसी सेनामा भर्ती नेपालीहरूलाई उद्धार गर्ने सम्बन्धमा रुसी सरकारसँग उच्च कूटनीतिक तहमा निरन्तर पहल गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले रसियामा परराष्ट्र मन्त्रालयले त्यति सक्रिय भएर काम गर्न सकेको रहेनछ । यो युद्धको कारणले गर्दा, र हाम्रो नेपालको रुसमा रहेको राजदूतावासमार्फत् पहल गर्नुपर्छ भनेर योभन्दा अगाडिको मन्त्रीहरुलाई पनि उहाँहरुलाई जानकारी दिएको र त्यही अनुरुप हाम्रो राजदूतावासले कुराहरु गरिरहेको छ । निरन्तर पहल भइरहेको छ । नेपालीहरु जो रसियन सेनामा छन्, ३२१ जनाको मात्र रेकर्ड छ । त्योभन्दा बढी पनि छ भन्ने छ तर हामीसँग रेकर्ड छैन ।’
उहाँका अनुसार रुस–युक्रेन युद्ध भएदेखि हालसम्म रुसी सेनामा भर्ती भइ युद्धमा मर्ने नेपालीको संख्या ३४ पुगेको छ भने २२ जनाको डिएनए परीक्षणका लागि दिइएको छ । हालसम्म युक्रेनमा युद्धबन्दी ६ जना रहेका छन् ।
यस्तै, घाइते भइ उपचाररत रहेका व्यक्तिको संख्या ५ जना छ भने त्यसमध्ये एक जना फर्किसकेको छ । मस्कोस्थित नेपाली दूतावासले समन्वय गरी रुसी सेनाबाट नेपाल फर्केकाको संख्या १५० छ ।
हालसम्म उद्धारका लागि निवेदन परेको ३२३ जना छन् भने सम्पर्क मै नरहेका भनी खोजी र फिर्ताका लागि निवेदन दिएको संख्या ११६ रहेको छ । घाइते वा अन्य कारणले फिर्ता गराइदिन अनुरोध गरिएको १६१ रहेका छन् ।
यसको साथै, विपिन जोशीको उद्धारको लागि नेपाल सरकारले सुरुदेखि नै उच्चस्तरीय तहमा दुई पक्षीय र बहुपक्षीय कूटनीतिक पहल निरन्तर रुपमा गरिरहेको पनि उहाँको भनाइ छ ।