काठमाडौँ, ६ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दुई ठुला दल एमाले र कांग्रेस एकै ठाउँमा उभिएकाले उनीहरुलाई गल्ती गर्ने छुट नभएको बताउनुभएको छ ।
जनताले सुशासनको अनुभुति हुने गरी सरकारले काम गर्नुपर्ने उल्लेख गर्दै कोइरालाले अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकोले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा पनि उहाँको राय थियो ।
उहाँले भन्नुभयो, ‘अब पनि दुई ठुला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स हुनपनि सक्छ ।’
आफ्नो पार्टी सरकारमा छ त्यसैले उनीहरुले गरेका सबै काम ठिक छ भनेर चुप लागेर नबस्न नहुने उहाँको तर्क थियो । यदि मन्त्रीहरुले गलत काम गरे तिनको आलोचना र विरोध गर्न कार्यकर्तालाई आग्रह समेत गर्नुभयो । ‘जनभावना विरोधी काम गर्ने छुट नत प्रधानमन्त्रीलाई छ न मन्त्रीलाई छ,’ उहाँको भनाइ छ ।
बिपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा बिपी स्मृति सामुदायिक सहकारी अस्पतालले काठमाडौँमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै कांग्रेस नेता कोइरालाले बिपी कोइरालाको सिद्धान्त अनुसार कांग्रेसका नेता एवं कार्यकर्ता हिँड्न नसकेको बताउनुभयो ।
‘हिजो पश्चिमको साथीलाई चोट लाग्दा पूर्वको साथीलाई दुख्थ्यो । पूर्वको साथीको पीडाले पश्चिमको साथीलाई पोल्थ्यो, हामी आफूलाई बिपीका अनुयायी भन्छौँ तर स्वार्थमा परेर आफू आफूमै लड्छौँ । बिपीले त यस्तो कहिल्यै सिकाउनुभएन । हिजोको त्यो आत्मियता कहाँ गयो ?’ कोइरालाले प्रश्न गर्नुभयो ।