काठमाडौँ, ६ साउन । नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादमा समावेशी पद्धति अवलम्बन गरिएकाले त्यसको परिपालन गर्नु आजका राजनीतिक दलहरुको दायित्व भएको औँल्याउनुभएको छ ।
आइतबार जननायक बिपी कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा बिपीको स्मरण गर्दै उहाँले समाजवादको मूल मर्म ‘समानता’ अर्थात् ‘समावेशिता’ हो र यस विषयमा बहस गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो ।
‘महामानव एवम् जननायक बिपी कोइरालाको ४२औँ स्मृति दिवसमा उहाँलाई स्मरण गरिरहँदा प्रजातन्त्र, राष्ट्रियता, समाजवादको मूल्य र मान्यताबारे समीक्षा गर्नुपर्ने अवस्था सिर्जना हुँदै गइरहेको छ । किनकी समाजवादको मूल मर्म ‘समानता’ अर्थात् ‘समावेशिता’ हो र यस विषयमा बहस गर्नुपर्ने अवस्था सिर्जना भएको छ,’ डा.संग्रौलाले अगाडि भन्नुभएको छ,‘ समानता, प्रजातन्त्रको अभिन्न अंग भएको हुँदा यसले प्रजातन्त्रका उल्लिखित तत्त्वहरूको अवलम्बन, सामाजिक, आर्थिक अवसरहरूमा हरेक जाति, वर्ग, समुदाय, धर्म, क्षेत्रलगायतका जनतामा समान पहुँच र उपलब्धतालाई वैधानिक तवरले सुनिश्चिता प्रदान गर्नुपर्ने आवश्यक्ता खड्किँदै गएको छ । प्रजातान्त्रिक समाजवाद स्वयंमै समावेशी पद्धति भएको हुनाले यसको परिपालन गर्न यस स्मृति दिवसले सबैलाई स्मरण गराओस् । बिपीप्रति हार्दिक श्रद्धासुमन ।’
पटक पटक परिवर्तन भइरहने सरकारमा महिला, दलित, मुस्लिमलगायतका समुदायको प्रतिनिधित्व कमजोर भइरहेको सन्दर्भमा डा.संग्रौलाले समावेशिताको मुद्दा उठान गरेको दाबी गर्नुभयो ।