कांग्रेस–एमाले नेतृत्वको सरकार तानाशाही बन्छ भन्ने कुरामा सत्यता छैन : मन्त्री शाही

33

काठमाडौँ, ५ साउन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले कांग्रेस–एमाले नेतृत्वको सरकार तानाशाही बन्छ भन्ने कुरामा सत्यता नरहेको बताउनुभएको छ ।

शनिबार काठमाडौँमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकार तानाशाही बन्नुपर्ने कुनै कारण नरहेको बताउनुभयो । सरकारले लोकतन्त्रलाई सुदृढ बनाउने, गणतन्त्रलाई संस्थागत गर्ने र यसमा भएका कमीकमजोरी सुधार गरेर अगाडि बढ्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘सरकार तानाशाही बन्नुपर्ने कुनै कारण नै छैन । दुईवटा पार्टीको विशेष पहलबाट लोकतन्त्र आएको छ, गणतन्त्र आएको छ । बरु यो सरकारले लोकतन्त्रलाई सुदृढ बनाउने, गणतन्त्रलाई संस्थागत गर्ने र यसमा भएका कमीकमजोरी सुधार गरेर जनताको समस्या समाधान गर्ने मुख्य उद्देश्य हो ।’

मन्त्री शाहीले वर्तमान सरकार कांग्रेस–एमालेका शीर्ष नेताहरुले सुझबुझका साथ गठबन्धन बनाएको बताउँदै २०८४ को निर्वाचनसम्म यही गठबन्धन सरकार अगाडि बढ्ने दाबी गर्नुभयो । उहाँले सरकार फेरबदलबाट जनता हैरान भइसकेको बताउँदै कांग्रेस–एमाले गठबन्धन अन्तिम विकल्प रहेको बताउनुभयो ।

‘यो सरकारले पूर्ण रुपमा राजनीतिक स्थायित्व दिन्छ । बीचमा तलमाथि हुने प्रश्नै आउँदैन । यो अन्तिम विकल्प हो । धेरै विकल्पहरु प्रयोग भइसके । जनता सरकार फेरबदलको खेलले आजित भइसकेको अवस्था छ । त्यसकारणले आम जनताको चाहना र भावना दुई दल मिलेर राजनीतिक स्थायित्व दिनुपर्छ भन्ने थियो । दुई दलका शीर्ष नेतृत्वले यो कुरा महसुस गरेर सहमति गरेको हुनाले यो सरकार पूरा अवधि अगाडि बढ्छ भन्नेमा हामी विश्वस्त छौँ,’ उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...