काठमाडौँ, ४ साउन । नेपाली कांग्रेसका नेता डा.गोविन्द पोखरेलले पार्टीको संगठन निर्माणमा ऐतिहासिक भूमिका निर्वाह गरेका कोइराला परिवार एक भए कांग्रेस बलियो हुने बताउनुभएको छ ।
शुक्रबार बालुवाटारस्थित डा.शेखर कोइरालाको सचिवालयमा नेतृ सुजाता कोइरालाले एकताको सन्देश दिएपछि उहाँले कोइराला परिवारमा एकता सुरू भएको बताउनुभयो ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उहाँले आफूहरुले कोइरालाहरु एकजुट बनाउनका लागि सुजाता कोइरालाबाट प्रक्रियाको सुरुवात भएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘आज सुजाताजीले डा.शेखरकै सचिवालयमा आएर एकताको सन्देश दिनुभयो । डा.शेखरले यसअघि महाधिवेशनमा ४० प्रतिशत मत ल्याएर पराजित हुनुभयो तर कोइराला परिवार एक भएको भए उहाँ विजयी हुनुहुन्थ्यो । अब तीन कोइराला मात्र होइन कोइरालाजस्तै हजारौँ कार्यकर्तालाई एकै ठाउँमा हुने छौँ । आजदेखि प्रक्रिया सुरु भएको छ । १५औँ महाधिवेशनमा डा.शेखरलाई सभापतिमा विजयी गराएर कांग्रेस बलियो बनाउने अभियान प्रारम्भ भयो ।’
शुक्रबार नेतृ कोइरालाले १५औँ महाधिवेशन सभापतिमा डा.शेखरलाई समर्थन गर्ने घोषणा गरेपछि डा.पोखरेल एकताको महाधिवेशन प्रारम्भ भएको बताउनुभयो ।
त्यस्तै, कांग्रेसका पूर्वमुख्यसचिव एवम् पूर्वसांसद ऋषिकेश तिवारीले डा.शेखरकै पहलमा सुजाता कोइराला हप्तामा एक पटक सचिवालयमा आएर कार्यकर्तासँग अन्तरक्रिया गर्ने निर्णय भएको बताउनुभयो ।
‘यतिबेला कोइराला परिवारमा एकता आवश्यक छ । मुलुक अहिले अप्ठयारो अवस्थामा छ । शेखर कोइरालाले पहिला हामी काङ्ग्रेसभित्रै मिल्नुपर्छ भन्नु भएबमोजिम आज सुजाता कोइराला आउनुभयो । उहाँले हप्तामा एकपटक आउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यो आवश्यकता पनि हो । देश, प्रजातन्त्र र विकासका लागि कोइरालालगायत सयौं कार्यकर्ताहरुबीचमा मेलमिलाप आवश्यक छ,’ उहाँले भन्नुभयो ।
नेतृ कोइरालाले कोइराला परिवार एकजुट भएर कांग्रेसलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिँदै आगामी महाधिवेशनमा डा.शेखरको नेतृत्व स्वीकार्ने बताउनुभएको थियो ।
सो अवसरमा डा.शंशाकलाई पनि एकै ठाउँमा ल्याएर आफ्नो बुबा र हजुरबुबाहरुले देख्नुभएको सपना पूरा गर्नुपर्ने बताउनुभयो । भेटघाटका क्रममा डा. शेखर कोइरालाले धेरै कार्यकर्ता र शुभेच्छुकहरुले कोइराला परिवार एकढिक्का भएको सन्देश दिनुपर्ने इच्छा रहेको सुनाउनुभयो ।
आकस्मिक तय भएको भेलामा कांग्रेसका दर्जनौँ कार्यकर्ता डा.कोइरालाको सचिवालयमा पुगेका थिए । १४औँ महाधिवेशनमा तीनतिर विभाजित भएका डा.शेखर, डा.शंशाक र सुजाताबीच १५औँ महाधिवेशनमा एकढिक्का गराउन कार्यकर्ता तहबाट पहल सुरु भएको छ ।