सिंहदरबार कसरी चल्दोरहेछ भन्ने ज्ञान प्राप्त भयो : रवि लामिछाने

40

काठमाडौँ, ३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाँदा गाली खाएको बताउनुभएको छ । रास्वपाको नीति मन्थन कार्यक्रममा बोल्दै उहाँले सिंहदरबार कसरी चल्छ भनेर हेर्न मात्र गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भागबण्डा लिएर सरकारमा जानुभएको थियो नि भन्ने प्रश्न उठेको छ । यसमा एउटा कुरा स्पष्ट गर्न चाहन्छु, यदि हाम्रो पार्टीले राजनीतिक भागबण्डामा आफ्नो भाग खोज्थ्यो भने मन्त्रिपरिषद्को बैठकमा खल्तीबाट दुईचार जनाको नाम दिइहाल्थ्यौँ । तर, भागबण्डा नखाने भए सरकारमा किन गएको भनेर अर्कोतिर प्रश्न गर्छन् । दलहरूसँग मिलेर जाँदा गाली खाने कामबाहेक केही नहुँदो रहेछ । केही गर्नु थियो, सिक्नु थियो, सिंहदरबार कसरी चलाउने भन्ने कुरा जान्नको लागि हामी भागबण्डामा गएका हौँ ।’

साथै उहाँले वर्षा काम गरेको भनेर आफ्नै पार्टीका साथीहरुले योगदानको मूल्य माग्न थालेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक दलहरूले ठुलो भारी बोक्नु परेको छ, लाखौँ कार्यकर्ताको भारी बोक्नु परेको छ । भ्रातृ संगठनहरूको भारी बोक्नु परेको छ । मेरै साथीहरूले योगदानको मूल्य मागिरहेका छन् । पार्टी खोलेको दुई वर्ष भएको छैन मेरो योगदान छ भन्नु हुन्छ अरू पार्टीको त के कुरा गर्नु ।’

उहाँले यसरी पार्टीमा योगदान दिनेहरूलाई राज्यको सम्पत्तिबाट पाल्नु परेको जिकिर गर्नुभयो । उहाँले राज्यको स्रोतबाट आफ्ना मानिसहरू पालिने यो सिलसिला नियुक्ति हुनेसम्म पुगेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...