शिक्षा क्षेत्रमा भएका सबै समस्या समाधान हुन्छ : मन्त्री भट्टराई

39

काठमाडौँ, २ साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रमा भएको समस्या समाधान गर्न सबैसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बुधबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग भएको छलफलमा उहाँले नीतिगत रुपमा मन्त्रालयले योजना बनाएर अगाडि बढ्ने भन्दै जनतालाई नतिजा दिन अगाडि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शिक्षा क्षेत्रभित्र रहेका समस्याका बारेमा हामी सबै अवगत नै छौँ । यसको लागि हामी सबै र सरकार बसेर कसरी समाधान गर्ने भन्ने सुझाव र सल्लाहाकै आधारमा म अगाडि बढ्ने नै छु । किनभने व्यवस्थापिका र कार्यपालिकाबीचको सहकार्य र समन्वय बिना जनतालाई केही पनि नतिजा दिन सक्दैनौँ । त्यसैले व्यवस्थापिका र कार्यपालिकाबीचको सहकार्य आवश्यक हुन्छ । शिक्षा प्रणालीमा समस्या छ त्यसलाई समाधान गर्ने गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्‍यो भने मात्र समस्याको समाधान हुन सक्छ ।’

यसका साथै उहाँले ऐनको व्यवस्थाअनुसार मन्त्रालयले कसरी काम गर्ने भन्ने कुरामा कार्य योजना बनाएर अगाडि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शिक्षा मन्त्रालयको मुख्य काम भनेको शिक्षासँग सम्बन्धित सबै काम हो । हाम्रो ऐनको व्यवस्थाअनुसार मन्त्रालयले कसरी काम गर्ने भन्ने कुरामा हामीले कार्य योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । अनिवार्य निःशूल्क शिक्षा ऐनलाई कसरी कार्यान्वयन गर्ने भन्ने कुराको खाका मन्त्रालयले बनाउनुपर्छ । मन्त्रालयले त्यो बनाएर अगाडि जानुपर्छ । यसबारे छलफल भएको छ, यसको कार्यान्वयनको लागि स्थानिय सरकारसँग पनि छलफल गर्छौँ । कम्तीमा एक महिनाभित्रमा एउटा खाका दिनुपर्छ भन्ने सोचका साथ अगाडि बढेका छौँ ।’

प्राथमिकता तय गरेर अगाडि बढ्यो भने मात्र त्यसले परिणाम निकाल्न सक्छ भन्दै त्यसप्रति मन्त्रालय गम्भीर भएर लागेको उहाँको भनाइ छ ।

नेपालको वर्तमान शिक्षण प्रणालीलाई समीक्षा गर्ने सवालमा पाठ्यक्रम, परिक्षा र सिंगो मन्त्रालयको टिमसँग बसेर छलफल गरेको भन्दै यसको बारेमा करिब १५ दिनमा नतिजा निकालेर अगाडि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको वर्तमान शिक्षण प्रणालीलाई समिक्षा गर्न जरुरी छ, त्यो समीक्षा गर्ने कुरामा मूल्यांकन प्रणालीलाई कसरी समिक्षा गर्ने भन्ने सवालमा पाठ्यक्रम, परिक्षा र सिंगो मन्त्रालयको टिमसँग बसेर छलफल गर्दै छु यसको बारेमा करिब १५ दिनमा नतिजा निकालेर अगाडि बढ्ने छौँ । र एसइईको बारेमा यसको पूरक परीक्षादेखि गर्नुपर्ने कामहरु सबैलाई व्यवस्थित गर्दै जाने छौँ ।’

Share This:
सम्बन्धित खबर
Loading...