काठमाडौँ, २ साउन । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले देशको विकासका लागि महिलाहरुको भूमिका अहम् रहेको बताउनुभएको छ ।
बुधबार नेपाल महिला संघको केन्द्रीय कार्यलयको निर्माण गरिने नयाँ भवनको शिल्यानास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका महतले देशमा महिलाको संख्या पुरुषको तुलनामा धेरै रहेको भन्दै देशको विकासका लागि महिलाको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।
यस्तै, उहाँले महिलाहरुलाई राष्ट्रिय राजनीतिमा जोड्ने सवालमा महिला संघ कडी भएको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘देशमा पुरुषको तुलनामा महिलाको उपस्थिति बलियो छ । पुरुष दाजुभाइहरु कामको शिलशिलामा विदेशमा छन् । यस कारण देश विकासका लागि महिलाहरुको भूमिका अहम छ । महिलाहरुलाई राष्ट्रिय राजनीतिमा जोड्ने कडीका रुपमा महिला संघ रहेको छ । महिला संघको भवनको विस्तार आजदेखि थालनी भएको छ । अब यसैगरी महिला संघको संगठन विस्तार हुनेछ ।’
संगठनका सबै सदस्य मिलेर महिला संघको देशव्यापी संगठन विस्तारमा लाग्नुपर्ने महतको भनाइ थियो । उहाँले पार्टीको भ्रातृ संगठन महिला संघको माध्यमबाट पार्टीमा ठुलो संख्यामा महिला राजनीतिज्ञ जोड्न सफल हुने भएका कारण सबैले यसका लागि आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह पनि गर्नुभयो ।