नेपालको गरिमा अभिवृद्धिमा स्रष्टा र साहित्यकारको योगदान उच्च : राष्ट्रपति पौडेल

23

काठमाडौँ, १ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले लोकसंस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताउनुभएको छ ।

धर्मराज सावित्री थापा प्रतिष्ठानद्वारा मंगलबार राष्ट्रपति भवन शितल निवासमा आयोजित जनकेशरी धर्मराज थापाको १००औँ जन्मजयन्ती तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उहाँले नेपालको गरिमा अभिवृद्धिमा स्रष्टा र साहित्यकारहरूको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘लोक कलाकार तथा लोक–संस्कृतिकर्मी राष्ट्रका गहना हुन्, लोक–साहित्यकार, संस्कृतिविद् र कलाकारको चेतना राष्ट्रको चेतना हो, सिर्जनाको उपलब्धि राजनीतिक चेतनाभन्दा माथि उठ्छ ।’

नेपाल विभिन्न जातजाति, भाषाभाषी, संस्कृति तथा भौगोलिक विविधतायुक्त देश हो भन्दै राष्ट्रपति पौडेलले विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भाव हाम्रो विशेषता भएको बताउनुभयो ।

‘हाम्रो भाषा, संस्कृति, साहित्य, इतिहास र परम्परा हाम्रा अमूल्य निधि हुन्, यसैको विकास, संरक्षण र प्रवर्द्धनसँगै नेपालको राष्ट्रिय एकतालाई अझै सुदृढ र जीवन्त बनाएर नेपालीपनको मौलिक परिचय दिनु आजको आवश्यकता हो भन्ने मलाई लाग्दछ’, राष्ट्रपति पौडेलले भन्नुभयो ।

नेपाली लोकजीवन, मनोभावना र नेपाली माटोको मर्मलाई गीत, संगीत र साहित्यका माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिमा जनकविकेशरी धर्मराज थापाको विशिष्ट योगदान रहेको बताउँदै राष्ट्रपति पौडेलले नेपाली लोकसाहित्यको अध्ययन, अन्वेषण, संरक्षण र प्रवद्र्धनमा उनको योगदान नेपाल र नेपालीले कहिल्यै नबिर्सने बताउनुभयो । यस्ता कार्यक्रमले आफ्नो साधनामा समर्पित प्रतिभालाई समाज र राष्ट्रको विकासमा अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

सो अवसरमा राष्ट्रपति पौडेलले ५० हजार राशिको धर्मराज सावित्री थापा लोकसंस्कृति साहित्य पुरस्कार २०८० साहित्यकार वैरागी काइला र धर्मराज सावित्री थापा लोकगीत संगीत पुरस्कार एलपी जोशीलाई प्रदान गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...