किसानको छोरो हुँ, समस्याबारे जानकार छु : मन्त्री अधिकारी

42

काठमाडौँ, ३१ असार । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले पदभार ग्रहण गर्नुभएको छ । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उहाँले कृषि मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्दै मन्त्री अधिकारीले कृषि क्षेत्रका सबै निराशा हटाएर अगाडि बढ्ने बताउनुभयो । उहाँले आफू पनि किसानको छोरा भएकाले किसानले अब मल बिउँ समयमै पाउने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो,‘मलाइ विश्वास छ भोलिबाट कृषि क्षेत्रमा के–के अध्ययन गर्न सकिन्छ त्यो सबै म गर्ने छु । म पनि एउटा किसानको छोरा हुँ, किसानको छोरो भएका कारणले कुन बेलामा के चिजको आवश्यक्ता चाहिन्छ भन्ने कुरा सामान्यतया जानकारी राखेको छु । मलाइ विश्वास पनि छ यो मलको समस्या आगामी दिनमा आउने छैन । ’

साथै उहाँले कृषि प्राविधिकहरूको आन्दोलन आज मात्र थाहा पाएको बताउनुभयो । उहाँले यो आन्दोलनलाई अर्थ मन्त्रालयसँग परामर्श लिएर छिटोभन्दा छिटो समस्या समाधान गर्ने बताउनुभयो ।

२०१८ साल भदौमा धादिङको नेवारपानीमा जन्मिनुभएका अधिकारी नेपाली कांग्रेस धादिङका जिल्ला सभापति हुनुहुन्छ । पार्टीको मूल राजनीतिबाटै उदाएका उहाँ २०३६ सालको जनमत संग्रह र त्यसपछिका सबै राजनीतिक परिवर्तनमा सहभागी हुनुभएको थियो । उहाँ गिरिजाप्रसाद कोइरालाकै निकट व्यक्ति मानिन्थे ।

२०५६ सालको संसदीय निर्वाचनमा धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित उहाँ पहिलो कार्यकालमै राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बन्नुभएको थियो ।

उहाँ यसअघि दुई पटकसम्म जिल्ला सभापति हुनुभएको थियो । लगातार दुई पटकभन्दा बढी सभापति प्रतिस्पर्धा गर्न नपाउने व्यवस्थापछि उहाँले एक कार्यकाल सभापति छाड्नुभएको थियो ।

२०६४ र २०७० सालको निर्वाचनमा टिकट पाएर पनि पराजित हुनुभएका उहाँले २०७४ सालमा भने संसदीय निर्वाचनमा टिकट नै पाउनुभएन । २०७४ सालमा कांग्रेसका दिलमान पाख्रिनले उक्त क्षेत्रबाट टिकट पाएर पराजित हुनुभएको थियो । यसपटक भने अधिकारीले टिकट पाएर जित्न सफल हुनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...