काठमाडौँ, ३१ असार । नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनको नयाँ सरकारमा मुगुका ऐनबहादुर शाही वन तथा वातावरणमन्त्री बन्नुभएको छ । उहाँ नेपाली कांग्रेसबाट पहिलो पटक मुगुबाट मन्त्री बन्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा कर्णाली प्रदेशबाट मन्त्री बन्ने उहाँ एकल व्यक्ति समेत हुनुहुन्छ । शाहीको राजनीतिक अवस्था मन्त्री ऐनबहादुर शाही मुगुमा लोकप्रिय छन् ।
आम नागरिकसँगै पार्टीभित्र र अन्य पार्टीका कार्यकर्तासँग पनि राम्रो सम्बन्ध बनाउनुभएका शाहीसँग मुगुवासीले ठुलो अपेक्षा राखेका छन् ।
शाही हाल मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् भने वहालवाला मुगुका जिल्ला पार्टी सभापति पनि हुन् ।
२०२६ साल फागुनमा मुगुको अति विकट मानिएको सोरु गाउँपालिका २ धुपी भन्ने गाउँमा एक गरिब बिपन्न घर परिवारमा जन्मिनुभएका शाही २०४४/४५ सालदेखि नेपाल विद्यार्थी संघबाट संक्रिय राजनीतिमा होमिनुभएको थियो ।
बहुदलीय व्यवस्थापछि कांग्रेस जिल्ला पार्टी सदस्य हुँदै २०६८ मा शाही मुगु जिल्ला सभापतिमा निर्वाचित हुनुभएको थियो ।
२०७० मा पहिलो पटक संविधान सभा सदस्यको उम्मेदवार बन्नुभएका शाही झिनो मतान्तरले पराजित हुन पुगेका थिए । शाही फेरि दोस्रो पटक २०७८ मा कांग्रेस मुगु सभापति बन्नुभएको थियो ।
उहाँ २०७९ को आम निर्वाचनमा दोस्रो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको थियो । यस पटक मतदाताले शाहीका निकटतम प्रतिसपर्धी नेकपा (एमाले)का राजबहादुर कार्कीलाई पराजित गर्नुभयो । झण्डै चार हजार बढीको मन्तारन्तरले पहिलो पटक शाही संसदीय अभ्यासमा प्रवेश गर्न सफल हुनुभयो ।
भद्र र सालिन नेताका रुपमा परिचित शाहीले समग्र मुगु जिल्लाका लागि राम्रो काम गर्नेमा जिल्लाबासी सबै आशावादी छन् ।