ओलीको नियुक्ति असंवैधानिक, सर्वोच्च जान्छौँ : कानुन व्यवसायी

88

काठमाडौँ, ३० असार । कानुनविद्हरुले राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई जबरजस्त असंवैधानिक तरिकाले नियुक्त गरेको बताएका छन् ।

पूर्वमहान्याधिवक्ता तथा वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको लागि आह्वान गरेर असंवैधानिक कदम उठाएको बताउनुभयो ।

‘संविधानका धारा ७६ (२) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि स्वतः ७६ (३)मा जानुपर्ने थियो । तर, राष्ट्रपतिले असवैधानिक कदम उठाएर प्रधानमन्त्रीको लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ । यसले राष्ट्रपतिको संविधानको रक्षकको भूमिका रहन सक्नुभएन’, प्रधानले भन्नुभयो ।

आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रधानले नेपाली कांग्रेस र नेकपा (एमाले)ले मध्यरात गरेको सम्झौता प्रतिगामी भएको बताउँदै जनस्तरबाट प्रतिवाद हुने भएपछि सार्वजनिक गर्न नसकेको समेत बताउनुभयो ।

उहाँले संविधान संशोधनको नाममा कांग्रेस र एमालेले पुरानै संविधान ब्युँताउन खोजेको दाबी गर्दै भन्नुभयो,‘संविधान संशोधनको नाममा दुई पार्टीका नेताहरुले नाडी छाम्ने काम गरेका छन् । यसको प्रतिवाद जनताले गर्नेछन् । संसद्को सबैभन्दा ठुलो र दोस्रो ठुलो पार्टी मिलेर उद्देश्यहीन र गन्तव्यहीन यात्रा सुरु गरेका छन् ।’ प्रधानले राष्ट्रपतिको असवैधानिक कदमको प्रतिवाद गर्न अपील समेत गर्नुभयो ।

त्यसैगरी स्वतन्त्र कानुन व्यवसायी मञ्चका अध्यक्ष तथा अधिवक्ता यज्ञमणी न्यौपानेले राष्ट्रपतिले संविधान धारा ७६ (२)अनुसार प्रधानमन्त्रीको लागि दाबी पेस गर्न आह्वान गरेर संविधान च्यात्ने काम गरेको बताउनुभयो । उहाँले राष्ट्रपति संविधानको रक्षक हुनुपर्नेमा भक्षक भएको बताउनुभयो ।

‘संविधानको अपव्याख्या गरेर राष्ट्रपतिले गैरसंवैधानिक रुपमा प्रधानमन्त्री नियुक्ति गर्न लाग्नुभएको छ । यो संविधानमाथिको घात हो, संविधानको बलात्कार हो, यो विषय अदालत जान्छ’ न्यौपानेले भन्नुभयो । उहाँले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार र बेथितिका फाइल खोल्न थालेपछि मध्यरात नेपाली का.ग्रेस र नेकपा (एमाले) मिलेको बताउनुभयो ।

यसअघि पनि पटकपटक संविधानविरुद्ध गएको बताउँदै अहिले कांग्रेस ओलीको फेरो समाउदै सती जाने लागेको अधिवक्ता न्यौपानेले बताउनुभयो । उहाँले कांग्रेस र एमालेले संशोधनको नाममा संविधान समाप्त पार्ने खेल खेलेको बताउँदै लोकतन्त्र पनि खतरामा परेको बताउनुभयो ।

राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध कानुन व्यवसायीहरु अदालत गइसकेको बताउँदै न्यौपानेले भन्नुभयो, ‘संविधानमाथि फेरि घात भएको छ, असवैधानिक रुपमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्दै हुनुहुन्छ, यसका विरुद्ध कानुन व्यवसायी अदालत गइसकेका छन् ।’ उहाँले धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्ति गर्नु सही भन्नेहरु संविधान नपढेको समेत बताउनुभयो ।

नक्कली भुटानी भुटानी शरणार्थी बनाउन, गिरीबन्धु, बालमन्दिर, ललिता निवासको जग्गा कब्जा गर्न, खोल्न लागेका फाइल बन्द गर्न कांग्रेस र एमाले मिलेको समेत अधिवक्ता न्यौपानेले दाबी गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...