मेरो बारेमा आजबाटै अनुसन्धान गर्नुहोस् : रवि लामिछाने

41

काठमाडौँ, ३० असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू मन्त्री भएकै कारण आफूमाथि अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैदेखि अनुसन्धान थाल्न आग्रह गर्नुभएको छ ।

आइतबार मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफूमाथि पनि विभिन्न विषयमा प्रश्नहरु उठिरहेको भन्दै मन्त्री भएको कारणले अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैदेखि न्यायाधीससँग गहन अध्ययन अनुसन्धान थाल्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मेरो विषयमा पनि धेरै कुरा उठेका छन्, हिजो पनि उठेका हुन् । यहाँहरू सबै साक्षी हुनुहुन्छ । मैंले आफ्ना विषयमा आजसम्म यो गर्नुस् त्यो नगर्नुस् भनेको छैन । न कसैको सरुवा गर्नुस् भनेको छु, न मैले मेरो फाइल कुनै माध्यमबाट कुनै मन्त्रालय पठाएको छु । तर, पनि मन्त्री भएको कारणले तपाईंहरूलाई केही अप्ठ्यारो परेको रहेछ भने आजैबाट न्यायधीससँग गहन अध्ययन अनुसन्धान गर्नुस् । गल्ती गरेको जोकोही होस् बच्नु हुँदैन ।’

उहाँले निर्मला पन्तको हत्यारा पत्ता लागाउन अनुसन्धानको एकदमै नजिक पुगेको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘निर्मला पन्तको विषयमा नजिक पुगेका छौँ । एकदमै नजिक बारम्बार प्रश्न आयो तर कहिल्यै भनिन् । किनकी रिजल्ट आएपछि मात्रै भन्ने भनेर तर सुरक्षा निकायलाई राम्रोसँग थाहा छ । मलाई क्रेडिट चाहिँदैन । सबै क्रेडिट नेतालाई र प्रहरीलाई जाओस् । कुनै नेता र मन्त्रीले नपाओस्, नेपाल प्रहरीसक्षम छ ।’

गृहमन्त्री लामिछानेले जिबी राईको विषयमा पनि दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइसकेको दाबी गर्नुभयो । उहाँले आफूले प्राप्त गरेको सूचना उपलब्ध गराउने प्रतिवद्धता जनाउँदै आफ्नो कार्यकालमा हुन नसकेपनि हुनै नसक्ने भने नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘जिबी राईको विषयमा पनि दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइसकेको छ । केही कानुनी जटिलताहरू भएका छन् । जटिलता पूरा गरेर आउने गृहमन्त्रीले पूरा गर्नुहोस् । त्यो श्रेय नेपाल प्रहरीले प्राप्त गरोस् । म त्यसका लागि आफूसँग भएको सूचना जतिबेला पनि उपलब्ध गराउँछु । मेरो कार्यकालमा हुन नसकेपनि हुनै नसक्ने भन्ने होइन ।’

गृहमन्त्री लामिछानेले अब आफू प्रतिपक्षमा जिम्मेवारका साथ प्रस्तुत हुने भन्दै आफूले सम्हालेको मन्त्रालय बाहिर बसे पनि २४ सैँ घन्टा रहिरहने अठोट गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...