काठमाडौँ, २९ असार । नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाललाई सम्पन्न संस्कृति भएको देशमा रुपान्तरण गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।
शनिबार इलाम कलाकार समाज काठमाडौँद्वारा आयोजित इलाम साङ्गीतिक सम्मान कार्यक्रममा उहाँले सिंगो देशलाई समृद्ध बनाउने काममा सबै स्रष्टाहरुले सक्रियतापूर्वक योगदान गर्नुपर्ने भन्दै यसमा सबैको साथ आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘इलामको संस्कृतिको विकासलाई अझै अगाडि बढाउनुका लागि सबै स्रष्टाहरुले निरन्तर अगाडि बढ्नुहुन्छ भन्ने विश्वास छ । र एउटा प्रगतिवादी कला, साहित्य र संस्कृतीको विकास गर्ने र सुखी र समृद्ध इलाममा रुपान्तरण गर्ने र सिंगो देशलाई त्यसरी नै समृद्ध बनाउने काममा सबैले सक्रियतापूर्वक योगदान गरौँ । देशलाई एउटा सम्पन्न संस्कृती भएको देशमा रुपान्तरण गर्ने काममा हामी सबै लाग्ने छौँ भन्ने विश्वास लिएको छु ।’
उहाँले इलामले धेरै स्रष्टाहरुलाई जन्माएको र धेरै लामो समयदेखि संस्कृति विकासको प्रवाहमा अगाडि बढ्दै आएको पनि बताउनुभयो ।
यसका साथै, आज सम्मानित भएका सबै स्रष्टाहरुलाई इलामका सम्पूर्ण र आफ्नो तर्फबाट बधाई पनि दिनुभयो ।