काठमाडौँ, २५ असार । संसदीय सहकारी छानबिन समितिका सभापति सूर्य बहादुर थापाले सहकारीहरुको समस्या छिट्टै समाधान नभए सिंगो आर्थिक प्रणालीमा प्रभाव पर्ने बताउनुभएको छ ।
मंगलबार सिंहदरबारमा बसेको बैठकमा उहाँले सहकारीको मात्र समस्या हो भनेर छाड्ने हो भने सिंगो अर्थतन्त्रमा प्रभाव पर्ने भन्दै यसको छिटो समाधान आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आज जति पनि सहकारीहरु समस्यामा परेका छन्, उनीहरुको समस्या ठिक तरिकाले कानुन निर्माण गरेर प्रस्तावित संरचना बनाएर समाधान गरिएन भने सिंगो आर्थिक प्रणालीमा यसको दुस्प्रभाव पर्छ । बैंकहरुमा पनि यसको प्रभाव पर्छ, सहकारीको मात्र समस्या हो भनेर सिंगो अर्थतन्त्रको हकमा भन्न सक्ने अवस्था नहुन सक्छ ।’
उहाँले नियमनप्रति बेखबर हुनु र कानुन अनुसारका संरचना नबन्नु उचित नभएको भन्दै सहकारीहरु बढे अनुसार संरचनात्मक व्यवस्थापनका कामहरु नभएका कारणले पनि समस्याहरु देखा परेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नियमनप्रति बेखबर हुनु र कानुन अनुसारका संरचना नबनाउने कामहरु उचित भएनन् । अहिले सहकारीहरु बढिरहेको अवस्थामा त्यसअनुसारका संरचनात्मक व्यवस्थापनका कामहरु नभएका कारणले पनि समस्याहरु देखा परेको हो । सहकारीमा समस्या आउनुको कारण सहकारीको सिद्धान्तविपरीत सहकारीहरु दर्ता गर्ने कामले गर्दा पनि भएको हो । सहकारीको संख्या धेरै भयो तर त्यसलाई नियमन गर्ने कानुन त्यहीअनुसार भएन ।’
कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधीकरण, बचत तथा कर्जा सुरक्षा कोष ऐनले व्यवस्था गरे पनि बन्न नसकेको भन्दै उहाँले यसप्रति ध्यानाकर्षण गराउनुभयो ।
धेरै लामो समयदेखि सहकारी रजिस्ट्रारको कार्यालय र सहकारी मन्त्रालयले अर्थमन्त्रालयमा सहकारीसँग सम्बन्धित बचत तथा कर्जा सुरक्षा कोष स्थापनाका लागि गरिएको सहमति पनि कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ ।