काठमाडौँ, २४ असार । नेकपा (एमाले)ले वर्तमान सरकारबाट बाहिरिएर कांग्रेससँग गरेको सहकार्यबारे संसद्मा स्पष्टीकरण दिएको छ ।
सोमबार बसेको प्रतिनिधिको बैठकमा विशेष समयमा बोल्दै एमालेका सांसद महेश बर्तौलाले प्रधानमन्त्रीले एमालेसँगै सरकारमा रहने तर अर्को दाउपेचको प्रक्रियालाई सँगसँगै जोडिरहने दुषित खेल खेलेपछि एमाले सरकारबाट बाहिरिनु परेको बताउनुभयो ।
प्रधानमन्त्रीको चुलबुले स्वभाव र उथलपुथलको कार्यशैलीको मारमा एमाले परेको र सरकारभित्र रहँदा रहँदै आफ्नो सहयात्री दललाई कमजोर बनाउने खेलमा लागेको उहाँले जानकारी दिनुभयो ।
‘प्रधानमन्त्री सदैव एमालेसँगै सरकारमा रहने तर अर्को दाउपेचको प्रक्रियालाई सँगसँगै जोडिरहने त्यसप्रकारको दुषित खेलको निरन्तरतामा उहाँ आफैं सहभागी हुनुभयो । उहाँको चुलबुले स्वभाव, उथलपुथलको कार्यशैलीको मारमा हामी पर्ने आवस्था बन्यो । सरकारमै रहेको एमालेलाई एक्ल्याउने र कमजोर बनाउने प्रयास भयो । सरकारभित्र रहँदा रहँदै पनि सहयात्री दललाई कमजोर बनाउने प्रयास जारी रह्यो । त्यसैले हामी बाहिरियौँ,’ उहाँले भन्नुभयो ।
बर्तौलाले आफूहरुलाई साथी चाहिरेको उल्लेख गर्दै त्यस क्रममा कांग्रेससँग भेट भएको बताउनुभयो । स्थिर सरकार दिनुपर्छ भनेर कांग्रेससँग सहमति भएको उहाँको भनाइ थियो । साथै बर्तौलाले संसद्भित्रै गायिका अन्जु पन्तको गीत गाउँदै प्रधानमन्त्री दाहाललाई सम्झिनुभयो । ‘तिम्ले पराइ ठानेपछि पराइ हुन के भयो र, तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र ?’ भन्दै उहाँले दाहाललाई सम्झिनुभयो ।
‘एमालेका मन्त्रीले राजीनामा बुझाउन जाँदा प्रधानमन्त्रीज्यूले फत्तेमानको गीत गाउनुभएको थियो– ‘यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले–कहिले, कसैलाई माया गर्नु एउटा भूल गरेँ मैलै,’ बर्तौलाले संसद्मा भन्नुभयो, ‘म अञ्जु पन्तको गीत स्मरण गर्न चाहन्छु– तिम्ले पराइ ठानेपछि पराइ हुन के भयो र, तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र ?’