काठमाडौँ, २१ असार । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले)ले दलाल पुँजीवादसँग अँगालो मारिरहेको आरोप लगाउनुभएको छ ।
शुक्रबार काठमाडौँमा आयोजित महाधिवेशन समापन कार्यक्रममा बोल्दै उहाँले नेपाली कांग्रेस दलाल पुँजीवाद रहेकोे आरोप लगाउँदै उहाँले कांग्रेससँग अँगालो मार्ने पार्टीले राष्ट्रको हित गर्न नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘कम्युनिस्ट आन्दोलनमा अहिले दक्षिणपन्थी अवसरवाद र दक्षिणापन्थी यथास्थितिवाद हाबी छ । आम कार्यकर्ताहरुले नयाँ विचार खोजिरहेका छन् । सही नेतृत्व खोजिरहेका छन् । सही पार्टी खोजिरहेका छन् । स्वयं नेकपा (एमाले)भित्र अहिले कार्यकर्ताहरुमा एक किसिमको भूकम्प गइरहेको छ । जुन प्रकारको नेतृत्व छ, त्यो नेतृत्व अब दलाल पुँजीवादसँग अँगालो मार्दै छ । दलाल पुँजीवादसँग अँगालो मार्ने कुनैपनि कम्युनिस्ट पार्टीले राष्ट्रको हित गर्न सक्दैन । यो कुरा नेकपा एमाले पार्टी तीन लाख ५० हजार सदस्यहरु रहेछन् । तीनिहरुले अब आजदेखि नै गम्भीरतापूर्वक सोच्नुपर्नेछ ।’
उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा अब नयाँ पुर्नगठन र एकताको प्रक्रिया सुुरुवात हुने बताउनुभयो । नेकपा एसको विकास र विस्तारलाई रोक्न सक्ने शक्ति देशमा नै रहेको उहाँको दाबी छ ।