काठमाडौँ, २० असार । उपसभामुख इन्दिरा राना मगरले ट्रान्स हिमालयन प्लेटफर्मको कार्यान्वयनलाई तीव्रता दिन आवश्यक रहेको धारणा राख्नुभएको छ ।
चीनको तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा बिहीबार सम्बोधन गर्दै उपसभामुख रानाले चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्वएसिया र मध्य एसियाका अन्य देशहरूबीचको सम्पर्क विस्तारका लागि ट्रान्स हिमालयन प्लेटफर्मको कार्यान्वयनलाई तीव्रता दिन चाहेको धारणा राख्नुभयो ।
उहाँले फोरम ट्रान्स हिमालयन राष्ट्रहरूलाई उनीहरूको साझा समृद्धि र विकासको लागि एकसाथ ल्याउन चीनको अत्यन्त महत्वपूर्ण प्रयास भएको चर्चा गर्दै हिमालय क्षेत्रका देशहरुका बीचमा कनेक्टिभिटी बढाउन, प्रकृतिमैत्री दिगो विकासलाई प्रवर्द्धन गर्न र आपसी सहयोग विकास गर्न महत्वपूर्ण संस्थागत प्लेटफर्म बन्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
‘ट्रान्स हिमालयन फोरम यस क्षेत्रका देशहरूका बीचमा थप सहकार्यका लागि मार्ग प्रशस्त गर्नका लागि व्यापक सम्भावना र अवसरहरू प्रदान गर्नेछ’, उहाँले भन्नुभयो, ‘यो फोरमले बिआरआईलाई मात्र नभई देशहरूबीचको व्यापार, पारवहन र लगानीलगायतका सामाजिक–आर्थिक सहकार्यलाई पनि प्रवर्द्धन गर्नेछ ।’
ट्रान्स हिमालयन रेलवे, राजमार्ग, हाई भोल्टेज पावर ग्रिडहरूलगायतका ठुला परियोजनाहरूलाई कार्यान्वयनको आवश्यकता औँल्याउँदै उनले यस्ता पूर्वाधारहरू हिमालयन क्षेत्र र देशहरूलाई आपसमा जोड्न अत्यन्तै लाभदायक हुनेछन् भन्नुभयो ।
उपसभामुख रानाले नेपाल र चीन नजिकका छिमेकी, भरपर्दो मित्र र भरपर्दो साझेदार चर्चा गर्दै नेपाल ‘एक चीन नीति’मा दृढ रहेको दोहोर्याउनुभयो । उहाँले नेपालको माटोमा चीनविरुद्ध कुनै पनि शत्रु गतिविधि हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।