नयाँ पुस्तालाई देशभित्रै टिकाउन हाम्रो मुख्य चुनौती हो : आरजु देउवा

32

काठमाडौँ, २० असार । नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले यतिबेला नयाँ पुस्तालाई देशभित्रै टिकाउन ठूलो चुनौती रहेको औँल्याउनुभएको छ ।

उहाँले सबै मिलेर चुनौतीहरुको सामना गर्दै नेपाललाई समृद्ध, शान्त र प्रगतिशील राष्ट्रका रुपमा विकास गर्नका लागि हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) शंकरदेव क्याम्पसले आयोजना गरेको त्रिभुवन विश्वविद्यालय बिबिए कप फुटबल प्रतियोगिताको १६औँ संस्करणको उद्घाटन कार्यक्रममा बोल्दै डा.राणाले नयाँ पुस्तालाई स्वदेशमै रोजगारी सिर्जना गर्न पहल गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको नयाँ पुस्तालाई देशभित्रै कसरी टिकाउने भन्ने ठुलो चुनौती छ । हामी सबै मिलेर यस्ता चुनौतीहरुको सामना गर्दै नेपाललाई समृद्ध, शान्त र प्रगतिशील राष्ट्रका रुपमा विकास गर्नका लागि हातेमालो गरेर अगाडि बढ्नुपर्छ ।’

बिहीबार प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता तथा आयोजक शंकरदेव क्याम्पसले केसिएमआइटी कलेजविरुद्ध खेल्दै छ ।

चन्द एण्ड ब्रदर्स प्रालिको व्यवस्थापनमा हुने प्रतियोगिता सानो गौचरण खेल मैदानमा सुरु भएको हो ।

प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यापार प्रशासनमा स्नातक गरिरहेका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउँछन् ।

प्रतियोगितामा २६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । विजेताले एक लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

हरेक खेलका म्यान अफ द म्याचलाई ट्रफी प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडी र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले विशेष पुरस्कार पाउनेछन् ।

Share This:
सम्बन्धित खबर
Loading...