अर्थमन्त्रीको दाबी- ‘ढुक्क हुनुस्, बजेट अनुसारकै मौद्रिक नीति आउँछ’

32

काठमाडौँ, १७ जेठ । अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रम र बजेट अनुसारकै आगामी आर्थिक–मौद्रिक नीति आउने दाबी गर्नुभएको छ । उहाँले बजेटको स्वीकार्यता बढेको पनि उल्लेख गर्नुभयो ।

आफूले सार्वजनिक प्रतिवद्धता अनुसार नै बजेट ल्याएको बताएका अर्थमन्त्री पुनले बजेटमा सबै नीति तथा कार्यक्रम समेटिएको र अब आउने मौद्रिक नीतिले पनि बजेटलाई रिफ्लेक्ट गर्ने प्रष्ट पार्नुभयो ।

‘यो बजेटमा नीति तथा कार्यक्रम सबैजसो रिफ्लेक्ट भएको छ । नीति कार्यक्रम र बजेटको रिफ्लेक्सन मौद्रिक नीतिमा आउँछ ।’ मन्त्री पुनले राज्य र राज्यका निकायहरु अलग अलग भएर नचल्ने उल्लेख गर्दै राष्ट्र बैंकले बजेटअनुसारकै मौद्रिक नीति ल्याउनेमा ढुक्क हुन सबैलाई आग्रह गर्नुभयो ।

‘राज्यका निकायहरु निश्चित सिद्धान्तमा चल्छ । अलग अलग होइन । त्यसैले मौद्रिक नीति यसमा मिल्दोजुल्दो आउँछ, तपाईंहरु कुनै कन्फ्युजनमा रहनु जरुरी छैन,’ अर्थमन्त्री पुनले भन्नुभयो ।

यस्तै उहाँले यस बीचमा राष्ट्र बैंक, प्राइभेट सेक्टर र सरोकारवाला सबैसँग छलफल गरी बजेटलाई सपोर्ट गर्ने, समग्र अर्थतन्त्रलाई गति दिने र आम नागरिकमा आशा जगाउने गरी काम गर्नेमा जोड दिँदै भन्नुभयो, ‘आगामी वर्ष सकारात्मक मुडमा बजेट कार्यान्वयनको समीक्षा गर्ने ठाउँमा हुन्छौं भन्ने विश्वास छ ।’

बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बजेटमा समावेश भएका विषयहरुमा निजी क्षेत्र र सरोकारवालासँग गरेको अन्तरक्रियामा उनले तथ्यमा आधारित भएर बजेट बनाइएको बताउनुभयो । उहाँले बजेटपछि प्रतिपक्षी दललगायत अधिकांश प्रतिक्रिया सकारात्मक आएको पनि सुनाउनुभयो ।

यसवर्ष बजेट निर्माणपूर्व विभिन्न क्षेत्रका विषयमा विषयविज्ञलगायत सबै मन्त्रालयहरुले पनि धेरै छलफल गरेको उल्लेख गर्दै उहाँले त्यहाँबाट प्राप्त तथ्यपरक डाटा र सरोकारवालाको सकारात्मक सुझाव तथा खबरदारीका कारण बजेट राम्रो बनेको दाबी पुनको छ ।

पुनले भन्नुभयो, ‘बजेट निर्माण गर्दा सबै मन्त्रालयले राम्रो छलफल गरेका छन् । त्यसपछिका प्रि–बजेट छलफलमा ठुलाठुला अन्तरक्रिया भएका थिए । विभिन्न वस्तुगत क्षेत्र, छाता संगठन, विषय विज्ञहरु ति सबैसँगको छलफलको प्रभाव परेको हो । त्यसले नेपालको अर्थतन्त्रको हालको यथार्थ स्थिति परिवेश बनिराखेको हुन्छ र हामीले सिस्टमबाट त्यसलाई चलाइराखेका हुन्छौ अर्थमन्त्रीको सोचले मात्रै काम गर्दैन । सबैको सकारात्मक, आलोचनात्मक योगदान हुन्छ । म एक्लैले राम्रो गरेँ भन्ने होइन कि हामी सबैले राम्रो सुझाव दिएर, अन्तरक्रिया र खबरदारी गरेको वस्तुगत रुपमा गरेछौँ भन्ने कुराको प्रमाणको रुपमा यो बजेटको समर्थन र स्वीकार्यतालाई मैले लिएको छु ।’

Share This:
सम्बन्धित खबर
Loading...