काठमाडौँ, ३ वैशाख । शिक्षा समितिमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल भएको छ ।
सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सो विधेयक माथि संशोधनकर्तासँग छलफल भएको हो ।
छलफलमा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विश्वविद्यालयको एउटा छाता ऐन बनाउन आवश्यक रहेको बताउनुभयो । विश्वविद्यालय कलेजसरह भएको भन्दै छाता ऐन बनाएर त्यो ऐनको प्रबन्धभित्र विश्वविद्यालयहरु खोल्न सकिने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो,‘मन्त्रीज्यूलाई मेरो आग्रह के हो भने यति धेरै विश्वविद्यालय किन चाहिएको हो ? विश्वविद्यालय कलेज सरह हो ? हामी हरेक विश्वविद्यालयको ऐन बनाउन राष्ट्रिय सभा प्रतिनिधिसभामा छुट्टाछुट्टै छलफल अथवा हरेक विश्वविद्यालयको ऐनको बारेमा छलफल किन गर्छौँ ? विश्वविद्यालयको छाता ऐन बनाउन सकिँदैन ? छाता ऐन बनाएर त्यो ऐनको प्रवन्धभित्र विश्वविद्यालयहरु खोल्न सकिने व्यवस्था गर्न सकिँदैन ?’
उहाँले संघबाटै विश्वविद्यालयलाई स्वीकृत गर्ने हो भने भएका विश्वविद्यालयभन्दा फरक ढंगबाट शिक्षा, ज्ञान प्रदान गर्ने र दक्ष जनशक्ति उत्पादन गर्ने परिस्थिति निर्माण हुने दाबी गर्नुभयो ।