मुगु, २५ चैत । हरेक वर्ष आधा शैक्षिक सत्र सकिएपछि मात्र पाठ्यपुस्तक देख्न पाउने मुगुका विद्यार्थीले यो वर्ष भने शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक पाउने भएका छन् ।
शैक्षिक सत्र सुरु हुनु एक हप्ता बाँकी छँदै मुगु जिल्लामा पाठ्यपुस्तक पुगेपछि मुगाली विद्यार्थीहरुले नयाँ कक्षामा प्रवेश गर्दै हातहातमा पुस्तक पाउने छन् । विगतका वर्षहरुमा विद्यार्थीहरुले वार्षिक परीक्षा आइसक्दा पनि पूरै विषयका पुस्तक नपाउँदा अधुरो पढाई मै परीक्षा दिन बाध्य थिए ।
जिल्लाका चारवटा स्थानीय तहहरुमध्ये शुक्रबारसम्म छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकाहरुमा रहेका सामुदायिक विद्यालयहरुका लागि आवश्यक पुस्तक बिक्रेताहरुले पालिका केन्द्रहरुमा पुर्याइसकेका छन् ।
छायाँनाथ रारा नगरपालिकामा रहेका ४५ सामुदायिक विद्यालयहरुका लागि पहिलो चरणमा ४ हजार ५०० सेट पुस्तक जिल्लामा पुगिसकेको पुस्तक बिक्रेता जयलक्ष्मी पुस्तक पसलका प्रोपाइटर लक्ष्मी भामले जानकारी दिनुभयो ।
जनक शिक्षामा पुस्तक पर्याप्त नछापिँदा विद्यार्थीलाई समयमै सबै विषयका पुस्तक दिन नसकिएको भन्दै यो वर्ष उक्त समस्याबाट छुटकारा पाएकाले समयमै पुस्तक विद्यार्थीलाई उपलब्ध गराउने बताउनुहुन्छ छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भाम ।
उहाँले भन्नुभयो, ‘विगत वर्षहरुमा जनक शिक्षामा पनि पुस्तक अभाव थियो । जिल्लामा पुस्तकनै नआउँदा विद्यार्थीले सबै विषयको पुस्तक पाउँदा वार्षिक परीक्षा नै आइसकेको हुन्थ्यो । यसपाली समय मै पुस्तक ल्याउन ताकेता गरेका थियौ र जनक शिक्षाले पनि प्रर्याप्त पुस्तक समय मै छपाएको पाइयो । अब विद्यार्थीले भर्नासँगै पुस्तक हातहातमा पाउँछन् ।’
उता जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकाका विद्यालयमा पनि समयमै पुस्तक पुग्ने भएको छ । शुक्रबार सदरमुकाम गमगढी पुगेको पुस्तक शनिबार बिहानै सदरमुकामबाट सोरु गाउँपालिका पुर्याइएको छ ।
पालिकाका शिक्षा शाखा प्रमुख विरेन्द्र मल्ल भन्नुहुन्छ, ‘यहाँ रहेका ३८ वटा सामुदायिक विद्यालयहरुका लागि आवश्यक पुस्तक उपलब्ध गराउने जिम्मा शाही जनरल अडर एन्ड सप्लायर्सलाई दिइएको थियो । पालिकाभित्रका ४ हजार ७७१ जना विद्यार्थीका लागि सबै विषयका पुस्तक पालिकामा आइपुगेको छ । २७ गतेबाट विद्यार्थीलाई पुस्तक दिन्छौँ ।’
मुगुम कार्मारोङ्ग गाउँपालिकामा रहेका १६ वटा सामुदायिक विद्यालयका एक हजार २०० विद्यार्थीका लागि आवश्यक पुस्तक उपलब्ध गराउने जिम्मा लिएको युके स्टेसनरीले पनि समयमै पुस्तक पुर्याउने जनाएको छ ।
शुक्रबार जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशबाट पुस्तक बुझिसकेको र बुधबारसम्म पालिका केन्द्रमा पुस्तक पुगिसक्ने मुगुम कार्मारोङ्ग गाउपालिका शिक्षा शाखा प्रमुख सुवास रावलले जानकारी दिनुभयो ।
जिल्लाको शैक्षिक क्षेत्रमा अगाडि रहेको खत्याड गाउँ पालिकामा रहेका ४० वटा सामुदायिक विद्यालयका लागि आवश्यक पुस्तक आइतबार नै पालिमामा पुर्याई वितरण कार्य सुरु भइसकेको छ ।
शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुन्छ । १५ गतेसम्म विद्यालयमा भर्ना अभियान चल्छ । मुगु जिल्लामा १३९ वटा सामुदायिक विद्यालयहरु सञ्चालनरत छन् ।
‘केन्द्र सरकारले लिएको पहलका कारण यो वर्ष चैतभित्रै दुर्गम जिल्ला मुगुमा पुस्तक आइपुगेको छ । दुर्गमका विद्यार्थीले सबै पाठ्यवस्तु पढेबिना नै वार्षिक परीक्षा दिनुपर्ने बाध्यताको मुगुमा यो वर्ष अन्त्य भएको छ । शिक्षक, विद्यार्थी र अभिभावक खुसी छन्,’ शिक्षा विकास तथा समन्वय इकाई मुगुका निमित्त प्रमुख खड्कराज भियालले भन्नुभयो ।
सरकारले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई सबै विषयका र कक्षा ११ र १२ का विद्यार्थीलाई अनिवार्य विषयका पुस्तक निःशुल्क उपलब्ध गराउँदै आएको छ ।