काठमाडौँ, २५ चैत । आउँदो वैशाख १५ हुने उपनिर्वाचनअन्तर्गत चासोका साथ हेरिएको इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका १२ जना र स्वतन्त्र ८ गरी २० जनाले उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी, मंगोल नेसनल अर्गनाइजेसनसहित स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
एमालेबाट सुहाङ नेम्वाङ, कांग्रेसबाट डम्बर खड्का, एकीकृत समाजवादीबाट जितबहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनेबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, राप्रपाबाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेश बहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्त विक्रम शाह, नेपाली जनता दलबाट रेशमबहादुर सुनार, नेशनल रिपब्लिकन पार्टीबाट धनराज रानामगरको उम्मेदवारी दर्ता भएको छ ।
त्यस्तैगरी, स्वतन्त्रबाट मनेबहादुर लिम्बू, अर्जुनबहादुर शाही, केशवकुमार चापागाईं, डाकप्रसाद गौतम, दिपेश बोहरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्यालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
मनोनयन दाखिला गरेका उम्मेदवारविरुद्ध आइतबार बिहान १० बजेदेखि ३ बजेसम्म विरुद्ध उजुरी दिने कार्यसूची छ । दिउँसो ३ देखि ५ बजेसम्म मनोनयनपत्र र उजुरी जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ ।