इलाम, २४ चैत । आउँदो वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि हालसम्म १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार मनोनयन दर्ताको लागि तोकिएको समयमा १३ जनाले दर्ता प्रमाणपत्र बुझेका छन् ।
शनिबार १० बजेदेखिट सुरु भएको निर्वाचन प्रक्रियामा जनमत पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पहिलो क्रममा मनोनयन दर्ता गराएको छ । जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङले सुरुमै मनोनयन दर्ता गराउनुभएको हो ।
मनोनयनअघि चर्चामा नै नआएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले दोस्रो क्रममा मनोनयन दर्ता गरेको छ । नेमकिपाबाट मोरङका श्यामबहादुर दर्जीले उम्मेदवार दर्ता गराउनुभयो ।
जनमत पार्टी र नेमकिपाले इलाम–२ मा अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका थिएनन् । तेस्रोमा डाकप्रसाद गौतमले मनोनयन दर्ता गराउनुभएको छ । गौतमले यसपटक भने स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी)का तर्फबाट जितबहादुर राईले उम्मेदवारी दर्ता गराउनुभयो । मुख्य प्रतिस्पर्धीका रुपमा रहनुभएका कांग्रेसका डम्बर खड्काले पनि केन्द्रीय नेताहरुसहित स्थानीय कार्यकर्ताको साथ लिएर मनोनयन दर्ता गराउनुभयो । जिल्ला सभापति समेत रहनुभएका खड्का गत निर्वाचनमा सुवासचन्द्र नेम्वाङसँग पराजित हुनुभएको थियो ।
एमालेका तर्फबाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराउनुभयो । उहाँ दिवगंत नेता सुवासचन्द्र नेम्वाङका छोरा हुनुहुन्छ । उहाँले दलबलसहित निर्वाचन कार्यालयमा पुगेर उमेदवारी दर्ता गराउनुभयो । उहाँलाई माओवादी केन्द्रले पनि साथ दिएको छ ।
यता, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले मनोनयनपत्र दर्ता गराउनुभएको छ । रास्वपाका उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसहितको टोलीसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पुगेर लिम्बूले मनोनयन पत्र दर्ता गराउनुभयो ।