काठमाडौँ, २४ चैत । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले मुलुकमा नीतिगत भ्रटाचार भइरहेको बताउनुभएको छ ।
शुक्रबार राजधानीमा आयोजित ‘नेपालको अर्थतन्त्रको यथार्थ स्थिति र सम्भाव्य कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपसभामुख मगरले सांसद र मन्त्रीहरुबाटै नै नीतिगत भ्रष्टाचार भइरहेको बताउनुभयो । नेताहरुले गाडी मर्मतका नाममा समेत भ्रष्टाचार गर्ने गरेको उहाँको आरोप छ ।
उहाँले भन्नुभयो, ‘बजेटमा भ्रष्टाचार गर्नको लागि अनेकौँ जुक्ति लगाइरहेका छन् । नामै तोकेर त म भन्दिन । कति पटक गाडी मर्मतका नाममा भ्रष्टाचार गरिरहेका छन् । पुराना गाडी मर्मतका लागि प्रतिशतका हिसाबले दिएको छ नि त । अहिले मान्छेहरुले कताबाट आय हुन्छ भन्ने मात्र खोजे । यसरी पनि देश चल्छ ?’
भ्रष्टाचार मुक्त देश निर्माणका लागि सबै मिलेर सरकारमाथि भ्रष्टाचार नियन्त्रणका लागि दबाब बढाउनुपर्ने मगरको भनाइ थियो ।
अहिलेको अवस्थामा दैनिक तीन हजार युवाहरु विदेशीरहेको उल्लेख गर्नुहुँदै उहाँले युवा पलायन रोक्न व्यवसायीहरुसँग सहकार्य गरी स्वदेशमै केही गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘ अहिले दैनिक तीन हजारभन्दा बढी युवाहरु विदेशीदै छन् । उहाँहरुलाई रोक्न व्यापारीहरुसँग सहकार्य गरि स्वदेशमै बस्ने वातावरण मिलाउनुपर्छ ।’