इलाम-२ मा कांग्रेसलाई पहिलेभन्दा सहज छ, चुनाव जित्छु : डम्बर खड्का

36

काठमाडौँ, २३ चैत । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका डम्बर खड्काले अघिल्लो पटकभन्दा यसपाली चुनाव जित्न सहज भएको दाबी गर्नुभएको छ ।

शुक्रबार बिहान नेपाली कांग्रेस इलाम–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले २०७९ को प्रतिनिधि सभा निर्वाचनमा भन्दा यस पटक कांग्रेसलाई प्रतिस्पर्धा गर्न सहज भएको बताउनुभयो ।

६ जना आकांक्षीहरुलाई पछि पार्नुहुँदै उपनिर्वाचनका लागि आधिकारीक उम्मेदवार बन्नुभएका खड्काले भन्नुभयो,‘अघिल्लो पटक राष्ट्रिय रुपमा स्थापित एमाले नेता सुवासचन्द्र नेम्वाङसँग चुनाव लड्नुपर्दा माहोल फरक थियो । अहिले इलामको भूगोल, अवस्थिति र मतदाताको मनोविज्ञान राम्रोसँग नबुझेका कम अनुभवी युवाहरुसँग चुनावमा प्रतिस्पर्धा गर्नुपर्दा केही सहज भएको छ । यस पटक कांग्रेसलाई हार्ने छुट छैन । मेरो काँधमा पार्टीको भविष्य छ । त्यसैले सबै एकजुट भएर चुनावी अभियानमा सक्रिय बन्नुपर्छ ।’

खड्कालाई सभापति शेरबहादुर देउवाले दोस्रोपटक अवसर दिनुभएको हो । गत २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा खड्का एमाले उपाध्यक्ष नेम्वाङसँग झिनो मतान्तरले पराजित हुनुभएको थियो । नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत प्राप्त गर्नुभएको थियो ।

कार्यक्रममा उम्मेदवारका आकांक्षी पूर्वराज्यमन्त्री केशव थापाले कांग्रेसलाई जिताउनुपर्ने बताउनुभयो । अर्का आकांक्षी रमेश लिङदेनले अहिले इलामको चुनावी माहोल विगतको जस्तो नभएको उल्लेख गर्नुहुँदै प्रशस्त मेहेनत गर्नुपर्ने औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘इलाम २ को अवस्था अघिल्लो चुनावको जस्तो छैन । पहिचानको मुद्दा उठेकाले त्यसलाई सम्बोधन गर्न आवश्यक छ । कमीकमजोरी सच्याएर नयाँ रणनीतिका साथ अघि बढ्नुपर्ने अवस्था छ ।’

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष एवम सोही निर्वाचन क्षेत्रका लागि उम्मेदवारको आकांक्षी रहनुभएका नगेन्द्र कुमालले कांग्रेस एकढिक्का भए चुनाव जित्न सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो,‘इलाम २ यस पटक गुमाउनै मिल्दैन । स्थानीय मुद्दालाई सम्बोधन गर्दै सबै एकढिक्का भएर चुनावी मैदानमा उत्रिनुपर्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...