उपत्यकामा किन बर्सेनी बढ्दै छ मोटरसाइकल चोरीको घटना ?
काठमाडौँ, २२ चैत । काठमाडौँ उपत्यकामा प्रहरी तैनाथी र निगरानी देशका अरु ठाउँभन्दा धेरै छ । तर, यहीँ मोटरसाइकल चोरीको बर्सेनी बढेको संख्याले भने प्रहरीलाई चुनौती दिइरहेको छ ।
चालु आर्थिक वर्षको नौ महिनामा काठमाडौँ उपत्यकाबाट १ हजार ८४७ वटा मोटरसाइकल चोरी भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा १ हजार ८५० र २०७८/७९ मा १ हजार ६०४ वटा मोटरसाइकल चोरी भएका थिए । उपत्यकामा विभिन्न पेसाव्यवसायमा रहेकाहरुका लागि दैनिकी चलाउन अत्यावश्यक साधन बनेको मोटरसाइकल चोरी बढिरहँदा प्रहरीमाथि बारम्बार प्रश्न उठ्ने गरेको छ ।
चोरिएका मोटरसाइकल खोजीमा प्रहरीले ‘भिक्टिम सपोर्ट युनिट’ स्थापना गरेको छ । तर, चोरी भएको संख्यामा आधा पनि फेला परेको तथ्यांक छैन । के हुन्छ चोरिएका मोटरसाइकल ? प्रहरी भन्छ – चोरीका मोटरसाइकलको पाटपुर्जा खोली पुराना सक्कली मोटरसाइकलमा राख्ने गरेको अनुसन्धानबाट पत्ता लाग्ने गरेको छ ।
प्रहरी नायब महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकाल भन्नुहुन्छ ‘चोरी हुनबाट बच्न ह्वीललक, डिस्कलक, ब्रेकलक, फ्युललक लगाउनु राम्रो हुन्छ । सम्भव भएसम्म जिपिएस ट्रयाकरलगायतका उपकरणको जडान गरी मोटरसाइकल चोरी हुनबाट सुरक्षित रहन सकिन्छ ।’
मुलुकमै सर्वाधिक संख्यामा मोटरसाइकल प्रयोगकर्ता उपत्यकामा छन् । संख्या बढेसँगै चोरी पनि बढेको छ । सूचना आएसम्म अनुसन्धान पनि जारी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ महानगरपालिका–३२ जडिबुटीबाट ओखलढुंगाका सञ्जोक तोलांगीको मोटरसाइकल चोरी भएको थियो । उहाँले ट्राफिक प्रहरी कार्यालयमा उजुरी गर्नुभयो । काठमाडौँ पेप्सीकोलामा फेला परेको मोटरसाइकल उहाँलाई प्रहरीले बुझाएको छ । त्यस्तै, ललितपुर सातदोबाटोबाट मिनु घोषको मोटरसाइकल पनि चोरी भएको थियो । ललितपुर चापागाउँमा फेला परेको उहाँको मोटरसाइकल फिर्ता दिइएको प्रहरीले जनाएको छ ।
चोरी रोकथाम गर्ने काम काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले गरिरहेको छ । पछिल्लो समय चैत १३ गते मात्र उक्त कार्यालयले फेला पारेका २० वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाइएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी ढकाल भन्नुहुन्छ ‘चोरी भएका मोटरसाइकल खोजी तथा अनुसन्धान गर्न देशभरका प्रहरीलाई सक्रिय पारिएको छ । विशेष योजना र कार्यक्रमहरू तयार गरी सुक्ष्म तरिकाले निग्रानी, प्रत्यक्ष अनुगमन र अनुसन्धान गर्ने गरिएकोले चोरी भएका मोटरसाइकल पत्ता लगाई सम्बन्धित धनीलाई बुझाउन सफलता मिलेको छ ।’
चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट चोरी भएका १ हजार ८४७ वटा मोटरसाइकलमध्ये ३७४ वटा फेला परेका छन् । फेला परेकामध्ये २९१ वटा सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ भने २४ वटा आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा र १७ वटा भन्सार कार्यालयमा बुझाइएको छ । बाँकी ४२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाउने क्रममा छन् । चोरीमा संलग्न २९ जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाही गरेको छ ।
आर्थिक वर्ष २०७९/८० मा चोरी भएका १ हजार ८५० वटा मोटरसाइकलमध्ये ५५१ वटा प्रहरीले फेला पारेको थियो । त्यसमा ४९९ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाएको थियो । सो अवधिमा ट्राफिक प्रहरीले ३८ जनालाई पक्राउ गरी आवश्यक कानूनी कारबाही गरेको थियो । त्यसैगरी आर्थिक वर्ष २०७८/७९ मा १ हजार ६०४ वटा मोटरसाइकल चोरी भएका थिए । तीमध्ये ५०६ वटा मोटरसाइकल प्रहरीले फेला पारेर ४३४ वटा सम्बन्धित सवारीधनीलाई बुझाएको थियो । उक्त अवधिमा ट्राफिक प्रहरीले ४५ जनालाई पक्राउ गरी आवश्यक कानुनी कारबाही गरेको थियो ।
धेरैजसो साँझ र रातको समयमा मोटरसाइकल चोरी हुने गरेको निवेदन आउने गरेको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठ भन्नुहुन्छ ‘चोरी भएका सवारीसाधनको विशुद्ध खोजतलास र अनुसन्धानका लागि ‘भिक्टिम सपोर्ट युनिट’ स्थापना गरिएको छ । युनिटले तत्कालै परिचालित भइ के–कस्तो सवारीसाधन कहाँबाट चोरी भयो, विगतमा कस्तो प्रकारको चोरी भएको थियो जानकारी लिई अनुसन्धान सुरू गर्छ । छिमेकी जिल्लासँग समन्वय गर्ने तथा नाकाका युनिटहरूको साथै हरेक नियमित चेकजाँचमा शंकास्पद मोटरसाइकल र मानिसलाई चेकजाँच गर्ने गरिएको छ ।’ यसप्रकार खोजतलासका क्रममा फेला परेका सवारीसाधन र पक्राउ परेका मानिसलाई कानुन बमोजिम कारबाही हुने उहाँले बताउनुभयो ।