काठमाडौँ, १९ चैत । चीन सरकार नेपालसँग सीमा जोडिएका १४ वटा परम्परागत व्यापारिक नाका खोल्न तयार भएको छ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको भैमण अवसरमा चीनले यस्तो प्रतिबद्धता जनाएको हो ।
चीनको सातदिने भ्रमण सकेर आज स्वदेश फर्किएका मन्त्री श्रेष्ठले यो जानकारी दिनुभएको हो । मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्वाददाताहरुसँग आफूले प्रस्ताव गरेपछि कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापारिक सीमा नाकाहरू यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको बताउनुभयो ।
मन्त्री श्रेष्ठले भन्नुभयो,‘रसुवागढी–केरुङ, तातोपानी–झाङ्ङ्गु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाकाहरू यसअगावै सञ्चालनमा आइसकेका छन् । कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको छ । यसबाट चीन सीमानजिक बसोबास गर्ने नेपालीको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने अपेक्षा गरेको छु ।’
नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकहरूलाई नेपालले सन् २०१६ देखि नै निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ । चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई पनि चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन आफूले अनुरोध गरेको भन्दै त्यसमा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकहरूलाई नेपालले सन् २०१६ देखि नै निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ । चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई पनि चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन मैले अनुरोध गरेको छु । यस मा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको छ।’
त्यसैगरी नेपालबाटतरकारी तथा फलफूल निर्यात सहजीकरणका लागि तथा सीमाका केही क्षेत्रमा मल्टिफंसनल ल्याब स्थापना गर्न चीन सकारात्मक भएको पनि उहाँले जानकारी दिनुभयो ।
काठमाडौँमा आयोजना हुने तेस्रो लगानी सम्मेलनमा बढीभन्दा बढी सहभागिता उच्च नेतृत्वको सहभागिताको संकेत गरेको मन्त्री श्रेष्ठको भनाइ छ ।
चीनका परराष्ट्र मन्त्री वाङ यी यही वर्ष नेपाल भ्रमणका लागि आउने पनि उहाँले जानकारी दिनुभयो ।