काठमाडौँ, १८ चैत । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले समावेशिता र समानुपातिक निर्वाचन प्रणालीमा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने बताउनुभएको छ ।
कांग्रेसनिकट नेपाल महिला संघद्वारा आइतबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले समावेशी र समानुपातिक प्रणालीका आधारमा संविधानमा व्यवस्था भएको हुनाले बहुमत कुनै एउटा पार्टीले ल्याउन गाह्रो रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस देशको लागि लडेको पार्टी, आपसी एकताको कमीका बाबजुद देशको ठुलो पार्टी बनेको छ । बहुमत प्राप्त गर्न सकेको छैन । यो बेला बहुमत प्राप्त गर्न गाह्रो पनि छ । नेपालको संविधान समावेशिता र समानुपातिक रुपमा निर्माण भएका कारण बहुमत ल्याउन सक्ने स्थिति छैन ।’
कांग्रेस महिला सशक्तिकरणका लागि लडेको पार्टी भएका कारण महिला नेतृहरु क्रियाशील भएमा बहुमत ल्याउन सकिने उहाँले विश्वास दिलाउनुभयो । त्यस्तै, पूर्वप्रधानमन्त्री देउवाले समावेशिता र लैंगिकताका आधारमा नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालको संविधान महिला, दलित, जनजाति र पिछडिएका वर्गलाई समेत सम्मान गरी समावेशिताका आधारमा तयार गरिएको छ । जसकारण नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान हो ।’