काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले सरकारको नेतृत्व गर्दै थालेको नयाँ समीकरणले मात्र समाजवादको बाटो कोर्न सक्छ भन्ने विश्वासको साथ ‘जनयुद्ध’को बेलामा भन्दा धेरै खटेर अघि बढेको बताउनुभएको छ ।
शनिबार काठमाडौँमा माओवादीको ‘२४औँ जेल ब्रेक स्मृति दिवस’का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले नयाँ समीकरण रणनीतिक, दूरगामी र क्रान्तिकारी भए तापनि धेरै जोखिम र चुनौतीपूर्ण रहेको बताउनुभयो । नयाँ समीकरणका विरुद्धका लगातार घेरा तोड्ने लडाइँ जारी रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अहिले हामी समाजवादी मोर्चा भनेर हामीले एउटा केन्द्रीकरण गर्ने कोसिस गरेका छौँ । अहिले सरकारको नेतृत्व गर्दै जुन नयाँ समीकरण गरेको छु, त्यो रणनीतिक छ, दूरगामी छ । मेरो विश्वासमा क्रान्तिकारी पनि छ, जोखिम छ, चुनौती छ । तर, यसले मात्रै सबै देशभक्त वामपन्थी र कम्युनिस्टलाई एक ठाउँमा केन्द्रित गर्न सक्छ र यसले मात्रै नेपाली मौलिकता विशेषताको समाजवादको बाटो कोर्न सक्छ भन्ने विश्वासको साथ म अहिले जनयुद्धको बेलामा भन्दा धेरै खटेको छु, बढी लडेको छु । लगातार घेरा तोड्ने लडाइँ जारी छ । म त लडिराखेकै छु ।’
उहाँले सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिन आवश्यक रहेको बताउनुभयो । राष्ट्रवादी शक्तिलाई पनि एक ठाउँमा केन्द्रित गरेर नयाँ र मौलिक तवरले समाजवादी क्रान्ति अगाडि बढाउने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘माओवादी आन्दोलनलाई छिटोभन्दा छिटो एक ठाउँमा केन्द्रित गर्ने र सम्पूर्ण राष्ट्रवादी शक्तिलाई पनि एक ठाउँमा केन्द्रित गरेर नयाँ र मौलिक तवरले समाजवादी क्रान्ति अगाडि बढाइन्छ, यो आत्मविश्वास अहिले पनि नेतृत्वलाई छ ।’
निराशा बाँड्ने तथा पार्टी र नेतालाई गाली गरेर जिम्मेवारी पूरा नहुने उल्लेख गर्नुहुँदै उहाँले सबैलाई एकताबद्ध भएर देश र जनताको पक्षमा उभिन आह्वान गर्नुभयो ।