काठमाडौँ, ११ चैत । सत्तारूढ नेकपा (एमाले)को सचिवालय बैठक आइतबार बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बिहान साढे ११ बजेदेखि सचिवालयको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुने छ । यसका अतिरिक्त सातौँ केन्द्रीय कमिटी बैठक र सचिवालय बैठकका निर्णयहरू सर्कुलर (अन्तरपार्टी निर्देशन) कारूपमा पठाउन पनि बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।
इलाम—२ को प्रतिनिधि सभा र बझाङ—१ को प्रदेश सभा सदस्यका लागि वैशाख १५ गते उपचुनाव हुँदै छ । त्यसमा उम्मेदवार तय गर्न सम्बन्धित जिल्ला र प्रदेश कमिटीबाट उम्मेदवार सिफारिस भएर आएका छन् ।
इलाम—२ का लागि ६ जनाको नाम सिफारिस भएको छ भने बझाङ—१ मा तीन जनाको नाम सिफारिस भएको छ । बैठकमा ती नामहरूमाथि समेत छलफल हुने प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो ।