काठमाडौँ, ९ चैत । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृह मन्त्रालयको पछिल्लो कदमप्रति आपत्ति प्रकट गर्नुभएको छ । शुक्रबार सामाजिक सञ्जालमार्फत् डा.कोइरालाले गृहले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन जारी गरिएकोमा जिल्लाका प्रशासनिक संरचनामार्फत् केन्द्र बलियो हुन खोज्नु अधिनायकवादको पूर्वाभ्यास भएको जनाउनुभयो ।
‘गृह मन्त्रालयले प्रजिअहरुलाई चैत्र ८ गते जारी गरेको निर्देशनले एकातिर आजभन्दा अगाडि जिल्ला प्रशासन कार्यालयहरु कानुनले दिएको अधिकार प्रयोग गर्न र कर्तव्य पालन गर्न पूर्णरुपमा असक्षम थिए भन्ने बुझिन्छ भने अर्कोतिर देशको विकास, शान्ति सुरक्षा र राजश्वलगायत सबै अन्य मन्त्रालय अन्तर्गतका कार्यालयहरुले समेत प्रजिअमार्फत गृहमन्त्रालयमा आफ्नो कामको प्रगति विवरण र प्रतिवेदन बुझाउनुपर्ने भन्ने देखिन्छ,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ,‘संघीयताको मर्म अनुरुप प्रदेश र स्थानीय तहका राजनीतिक संरचना बलियो बनाउँदै जानु पर्नेमा जिल्लाका प्रशासनिक संरचनामार्फत् केन्द्र बलियो हुन खोज्नु अधिनायकवादको पूर्वाभ्यास बाहेक केही हुनै सक्दैन ।’
त्यस्तै, डा.कोइरालाले नेपालको संविधानको ठाडो उल्लंघन गर्दै सामाजिक सञ्जाल र अनलाइन समाचार पोर्टलहरुको निगरानी र कारबाहीको बारेको निर्देशनको बुँदा राखिनु र दबाबपछि ती बुँदा हटाइनुले सरकारले राजनीतिक दल, सञ्चार जगत र नागरिक समाजको नाडी छाम्न खोजेको औँल्याउनुभयो । उहाँले यस्ता गैरजिम्मेवारी काम सरकारलाई भारी पर्ने र बेलैमा सोच्न समेत आग्रह गर्नुभएको छ ।
गृह मन्त्रालयले आमसञ्चारमाध्यमका विषय निगरानी र कारबाही चलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेको थियो । परिपत्रमा अनलाइन तथा छापा सञ्चारमाध्यमको अनुगमन र कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा डेस्क राख्ने उल्लेख थियो । उक्त परिपत्र सार्वजनिक भएसँगै चर्को विरोध भएपछि बिहीबार साँझ गृह विज्ञप्ति जारी गरी सञ्चारमाध्यमको निगरानी र कारबाही गर्ने विषय परिपत्रमा समावेश नभएको स्पष्टीकरण दिएको छ ।