भोजपुर, ७ चैत । आगलागीका कारण मृत्यु भएका भोजपुरका तीन बालबालिकाका परिवारलाई कोशी प्रदेश सरकारले प्रतिपरिवार एक लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ ।
मुख्यमन्त्री केदार कार्कीले सम्बन्धित प्रदेशसभा क्षेत्रका सांसदहरूसहित आगलागी भएको क्षेत्रमा पुगेर स्थगलत अवलोकन गर्दै पीडित परिवारलाई आर्थिक सहयोग गर्नुभएको हो ।
मंगलबार मुख्यमन्त्री कार्की प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्र पुग्नुभएको थियो । त्यसक्रममा प्रदेश सरकारकातर्फबाट राहत वितरण गर्नुभयो ।
चैत ३ गते हतुवागढी–७ को पात्लेपानीमा आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको थियो ।
आगलागीले पाँच वर्षीय प्रतिष कार्की, सात वर्षीया दिप्सिका कार्की र तीन वर्षीय दिनेश कार्कीको मृत्यु भएको थियो ।