काठमाडौँ, ७ चैत । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद क्षेत्रमा सीमित स्रोत साधनका बीचमा काम गर्नुपर्ने चुनौती रहेको बताउनुभएको छ ।
काठमाडौँमा मंगलबार आयोजित एक अन्तरक्रियामा उहाँले मन्त्रालयमा बजेट थोरै भएको भन्दै यस्तो अवस्थामा पनि एकीकृत भएर लागे सफल हुन सकिने साबित गर्ने प्रयासमा रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘खेलकुद मन्त्रालयको बजेट झिंगाको टाउको जति छ, त्यसमा पनि जम्मा ४ प्रतिशत प्रशासनिक खर्चमा मात्र मन्त्रालयले चलाउनु पर्छ । तर, मलाई के कुरा साबित गर्न मन लागेको छ भने एकीकृत भएर लाग्ने हो भने काम गर्न सकिन्छ । स्रोत साधनको विषयमा नेपालमा सबैले गुनासो गरी नै रहेका हुन्छन्, मलाई त्यसलाई पनि एकपटक चुनौती दिन मन लागेको छ ।’
यस्तै, उहाँले अवसर र चुनौती भन्ने कुरा सँगसँगै आउने विषय भएको भन्दै नीतिभित्र बसेर गर्न सक्ने कामको सुरुवात गरेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अवसर र चुनौती भन्ने कुरा सँगसँगै हुने रहेछ, यसमा काम गर्दै जाँदा कति नीतिगत कुराहरु बुझेर खाडलहरु पुर्नुपर्ने छ, यसको साथै बेथितिको कमी छैन । तर, केही प्रयासहरु गर्ने हो भने परिवर्तनहरु आउने रहेछ । यही नीतिभित्र बसेर गर्न सक्ने कामबाट सुरुवात गरेको छु ।’
खेल क्षेत्रप्रतिको घट्दो प्रभावलाई सुधार गर्ने प्रयासमा रहेको भन्दै त्यसमा युवा सहभागी र नवीनतम सोचको आवश्यकता भएको भनाइ पनि उहाँले राख्नुभयो ।