काठमाडौँ, ६ चैत । नेपाली कांग्रेसका संसद दिपक गिरीले सहकारी ठगी प्रकरणमा आरोपित दिपेश पुनलाई पक्राउ गर्दा उही प्रकरणमा आरोपित गृहमन्त्री रवि लामिछानेलाई उम्काउने प्रयास गरिएको आरोप लगाउनुभएको छ ।
गिरीले पूर्वउपराष्ट्रपतिका नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ पर्दा लामिछाने किन नभएको भनी प्रश्न गर्नुभएको हो ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्नुभएका गिरीले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा दिपेश पुनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गृहमन्त्री लामिछानेविरुद्ध पनि उजुरी परेको स्मरण गराउँदै पुनलाई कारबाहीको दायरामा ल्याउँदा सरकारले गृहमन्त्रीलाई किन कारबाही गरेन भन्दै प्रश्न उठाउनुभयो ।
‘पोखराको सूर्यदर्शन सहकारी पीडितहरुको पक्षबाट बोल्न चाहन्छु । बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दिपेश पुनविरुद्ध उजुरी दिएका थिए । दिपेश पुन गिरफ्तार भए । तर, रवि लामिछानेले गृहमन्त्रीजी अझै ठुलो पद पाउनुभएको छ । जो अनुसन्धानमा हुनुपर्ने हो उहाँ गृहमन्त्री हुनुहुन्छ,’ उहाँले गृहमन्त्रीको राजीनामा माग गर्दै प्रधानमन्त्रीको जवाफ माग्नुभयो ।