काठमाडौँ, २ चैत । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएर उच्च नौतिकता देखाउनुपर्ने बताउनुभएको छ ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा ११ बजे बस्ने तय भएको प्रतिनिधि सभा बैठक ४० मिनेट ढिलागरी सुरु भयो । सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ गर्नासाथ कांग्रेस सांसदहरुले उभिएर विरोध जनाए ।
त्यसपछि कांग्रेस प्रतिनिधिका रुपमा बोलेका सांसद पौडेलले सहकारी प्रकरणमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाउनै नहुने भन्दै सोबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताउनुभयो । राज्यको उच्च तहमा बसेको व्यक्ति सहकारी प्रकरणमा मुछिएको र उनैबाट सहकारी पीडितले न्याय पाउनेमा कांग्रेसले आशंका व्यक्त गरेको छ ।
लामिछाने पत्रकारिता गरेर नेतालाई प्रश्न गरेर आएका व्यक्ति भएपनि आफू प्रश्नको जवाफ दिने ठाउँमा पुगेपछि प्रश्न नै गर्न नपाइने, प्रश्नलाई निषेध गर्नुपर्छ भन्न नहुने र आफैँमाथि प्रश्न उठिरहेको बेला गृहमन्त्री बन्न नहुने धारणा पौडेलको छ ।
उहाँले भन्नुभयो, ‘आफैंमाथि प्रश्न बोकेर उहाँ गृहमन्त्री बन्नु हुँदैन थियो । प्रधनमन्त्रीले प्रश्न भएको मानिसलाई गृहमन्त्री बनाउनु हुँदैन थियो ।’
लामिछानेमाथि सहकारी ठगी प्रकरणमा आरोप लागेको छ । लामिछानेले गृहमन्त्री भएपछि सहकारी पीडितलाई न्याय दिनेमा शंका गर्दै पौडेलले सोध्नुभयो, ‘आज ३१ हजार सहकारीमा ७३ लाख बचतकर्ता छन् । बचतकर्ताले सहकारी सञ्चालकको सम्पत्तिबाट आफ्नो बचत फिर्ता दिनुपर्छ भन्ने माग गरेका छन् । अनुसन्धानको घेरामा रहेको व्यक्ति सरकारको मुख्य पदमा रहँदा सहकारी पीडितहरुको माग कसरी पूरा हुन्छ ?’
सहकारी पीडितहरुको मन जित्न नसकेको सरकारले उनीहरुले आन्दोलनबाट सिर्जना गर्ने अस्तव्यस्थतालाई कसरी थेग्न सक्छ भन्दै प्रश्न गर्नुभएका पौडेलले लामिछानेलाई राजीनामा दिन सुझाउनुभयो । ‘म आग्रह गर्न चाहन्छु माननीय मित्र गृहमन्त्रीलाई उच्च नौतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुहोस् ।’
सुशासनको नारा लगाएको सरकारले सुशासन कायम गर्ने निकायकै तालाचाबी सही व्यक्तिको हातमा नदिएको भन्दै सुशासन नै नआउने कटाक्ष गर्नुभयो ।
‘प्रधानमन्त्रीले सुशासनको चिन्ताले कांग्रेससँगको गठबन्धन तोडेको भन्नुभयो । म प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु जसको अनुसन्धान जुन मन्त्रालयले गर्नुपर्ने हो त्यही मन्त्रालयको तालाचाबी अनुसन्धान गर्नुपर्ने मान्छेलाई दिएर सुशासन प्राप्त हुन्छ ?’ उहाँले प्रश्न गर्नुभयो ।
सुन प्रकरणमा मुछिएकाहरु राजनीतिक संरक्षणले प्रहरीबाटै जोगिएको बताएका पौडेलले प्रश्नको घेरामा रहेका कुनै पनि व्यक्तिलाई सरकारमा नलाने इमान्दार प्रतिवद्धता प्रधानमन्त्रीले गरेर सबैलाई कारबाहीको घेरामा ल्याउन माग गर्नुभयो । सुन प्रकरणको नयाँ सिराबाट छानबिन गर्नुपर्ने माग कांग्रेसको छ ।
‘सुशासन भन्ने होइन लागु गर्ने कुरा हो । म प्रधानमन्त्रीलाई आग्रह गर्छु प्रश्नको घेरामा रहेका कुनै पनि मान्छेलाई सरकारमा नलाने नजिर स्थापना गरौँ । प्रधानमन्त्रीबाट त्यसको इमान्दार कार्यान्वयनको प्रतिबद्धता संसदमा व्यक्त हुनुपर्छ । सोही अनुसारको काम हुनुपर्छ । समग्र सुन प्रकरणलाई नयाँ सिराबाट छानबिन हुने ग्यारेन्टी नभएसम्म प्रधानमन्त्रीले विश्वास नदिलाइसम्म कांग्रेसले निरन्तर प्रश्न गरिरहन्छ,’ पौडेलले भन्नुभयो ।