काठमाडौँ, २ चैत । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले छिटो, छरितो, विश्वसनीय र प्रतिस्पर्धी सेवा दिन सहकारीहरु पनि प्रविधिमा जोडिन आवश्यक रहेको बताउनुभएको छ ।
महासंघको आयोजनामा बिहीबारदेखि सुरु भएको पहिलो डिजिटल कन्क्लेभमा बोल्दै अध्यक्ष मल्ले सहकारीहरु पनि डिजिटलाइजेसनको बाटोमा जान आवश्यक रहेको बताउनुभयो । सहकारी संस्थाले गरको लगानी समयमा असुली नहुँदा अहिलेको समस्या आएको उहाँको भनाइ छ ।
सहकारी ऐन २०७४ मा कर्जा सूचना केन्द्र, ऋण असुली न्यायधिकरण र कालो सूचीको व्यवस्था गरेको भए पनि समयमा कार्यन्वयनमा नआउँदा समस्या भएको उहाँले जनाउनुभयो ।
सरकारले सहकारी क्षेत्रको लागि बजेट व्यवस्था गन कन्जुस्याई गरेको भन्दै उनले यसले गर्दा सहकारीको विकास र प्रवर्द्धनमा समस्या भएको बताउनुभयो । आगामी बजेटमा सहकारीका लागि प्रयाप्त बजेटको व्यवस्था गर्न उहाँको माग छ ।
सहकारीलाई अर्थतन्त्रको तीनमध्ये एक खम्बाको रुपमा लिएको भए पनि राज्यले त्यो व्यवहार नदेखाएको उहाँको गुनासो छ । सहकारीको खोल ओडेर सदस्यको बचतको दुरुपयोग गर्ने जोकोहीलाई पनि राज्यले छोड्न नहुने उहाँको भनाइ छ ।
लाखौँ सहकारीकर्मीले स्वंयसेवी रुपमा काम गर्दै आएको भए पनि कतिपय सहकारीका सञ्चालकका कारण समाजमा प्रतिष्ठा नै गुमाउनु परेको उहाँको गुनासो छ ।
केही व्यक्तिले गरेको गल्तीमा सिंगो अभियानलाई जोडेर नहेर्न उहाँको आग्रह छ । सहकारीमा धेरै थरीका सफ्टवेयरको प्रयोग भइराखेकाले कस्ता सफ्टवेयर प्रयोग गर्ने भन्नेमा राज्यले एकिन गनुपर्नेमा उहाँको जोड छ ।
सहकारीमा गुणस्तरहीन सफ्टवेयर प्रयोग हुँदा डाटामा तोडमोड हुने र कतिपय अवस्थामा सदस्यको बचत नै अपचलन हुने हुँदा त्यसले सहकारीको विश्वसनियतामा नै समस्या उठ्ने अध्यक्ष मल्लले बताउनुभयो ।