काठमाडौँ, १ चैत । नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य फेरि बढेको छ । मंगलबार हालसम्मकै उच्च १ लाख २६ हजार पुगेको सुनको मूल्यमा बुधबार १ हजार रुपैयाँ घटेको थियो । तर, बिहीबार तोलामा ८ सय रुपैयाँले सुनको भाउ बढेर आएको छ ।
हिजो प्रतितोला १ लाख २५ हजार रुपैयाँमा झरेको छापावाला सुन बिहीबार १ लाख २५ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आजका लागि महासंघले तेजावी सुन तोलामा १ लाख २५ हजार २ सय रुपैयाँ तोकेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बुधबार १ हजार ४६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५० रुपैयाँ बढेर १ हजार ५१५ रुपैयाँ पुगेको छ ।
फागुन महिनाको २६ दिनमा मात्रै नेपाली बजारमा ८ हजार ५०० रुपैयाँले सुनको भाउ बढेर मूल्यमा नयाँ रेकर्ड राखेको छ ।