काठमाडौँ, ३० फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसमाथि आक्रमक रुपमा प्रस्तुत हुनुभएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेसले बारम्बार बेइमान गरेको बताउनुभयो ।
ओलीले कांग्रेसले इमानका कुरा गर्नु बेकार हुने बताउँदै कांग्रेसले इमानको कुरा गर्दा आफूलाई अचम्म लाग्ने गरेको सुनाउनुभयो । अहिलेको परिस्थिति एमालेको कारण बनेको नभइ अघिल्लो गठबन्धनकै कारण बनेको उहाँले बताउनुभयो । पोहोर दुई महिनामा नै सरकार परिवर्तन गर्दा अस्थिरता भएको नदेख्ने कांग्रेसलाई एक वर्षपछि कसरी अस्थिरता भयो भनी प्रश्न गर्नुभयो ।
देशमा विभिन्न खालका विद्वेष र घृणा फैलाउने काम भइरहेका भन्दै उनले चिन्ता व्यक्त गर्नुभयो । ‘देशको परिस्थिति सुखद छैन’, ओलीले भन्नुभयो । ओलीले नागरिक सर्वोच्चताभन्दा माथि कुनै पनि सर्वोच्चता नहुने बताउनुभयो ।
नेपाल सम्पूर्ण नेपाली जनताको साझा राज्य भएको उल्लेख गर्दै उहाँले भन्नुभयो,‘देशलाई एकताबद्ध बनाउनु पर्छ, सबैको साझा राज्य हो, त्यसको कार्यान्वयन हुनुपर्दछ ।’
अध्यक्ष ओलीले बहुदलीय निर्वाचन प्रणाली रहेका कारण सत्ता समीकरण फेरबदल हुनु स्वाभाविक भएको बताउनुभयो ।
नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस नेताहरुले अस्थिर भन्ने गरेको बताउँदै उहाँले दुई महिनामा सरकार परिवर्तन हुँदा किन अस्थिर भयो भन्नुभएन भन्दै प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सत्ता परिवर्तन स्वभाविक छ । हामीले दलीय निर्वाचनको प्रणाली ल्यायौँ । बहुमत कसैसँग पनि छैन । अस्थिरताको खेती तपाईंहरुले गर्नुभएको हो नि । पोहोर दुई महिनामा सरकार परिवर्तन हुँदाखेरि तपाईंहरुलाई अस्थिरता लागेन ? अहिले १४ महिनामा सरकार परिवर्तन हुँदा केको अस्थिरता ? दुई महिना नभइकन कसरी सरकार परिवर्तन गरेको हो ।’