विश्वासको मत दिने विषयमा उन्मुक्तिमा श्रीमान्-श्रीमतीबीच विवाद, रेशम भन्छन्- ‘यो घरझगडा हुँदै होइन’

45

काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने विषयले नागरिक उन्मुक्ति पार्टीमा श्रीमान्-श्रीमतीबीचमै विवाद भएको छ । सो पार्टीकी अध्यक्ष एवम् प्रचण्ड सरकारकी पूर्वमन्त्री रञ्जिता चौधरी र पार्टीका संरक्षक रेशम चौधरीबीचको विवाद बुधबार छरपष्ट भएको हो । रेशम र रञ्जिता श्रीमान् श्रीमती हुन् ।

टीकापुर घटनापछि जेलमा रहेका बेला रेशमले जेलबाटै निर्देशन गरेर श्रीमती रञ्जितालाई अध्यक्ष बनाएर पार्टी खोले, चुनाव जितेर नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिममा निर्णायक भूमिकामा छ भने संघमा पनि नागरिक उन्मुक्तिका चार सांसद छन् । श्रीमती सरकारमा मन्त्री भएकै बेला सरकारबाट सजाय माफी पाएर जेलबाट छुटेका रेशम पछिल्लोपटक पार्टीको महाधिवेशन गरेर पार्टी अध्यक्ष समेत चुनिनुभएको थियो । तर, निर्वाचन आयोगले महाधिवेशनको निणर्य खारेज गरेर पूरानै कार्यसमितिलाई निरन्तरता दिएपछि अहिले रञ्जिता नै पार्टीको नेता हुनुहुन्छ ।

रञ्जिता कांग्रेससहितको गठबन्धन सरकार हुँदा भूमि व्यवस्था तथा सहकारीमन्त्री हुनुहुन्थ्यो । अहिले फेरि गठबन्धन सरकारमा सामेल हुने वा विपक्षमा बस्ने भन्नेबारे रेशम र रञ्जिताबीचमै विवाद चर्किएको हो । रेशमले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन नहुने दाबी गर्नुभएको छ भने रञ्जिताले संघीय सांसदहरूलाई प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गर्नुभएको छ ।

उता रेशमले केन्द्रीय समितिका बहुमत सदस्यको बैठक राखेर विश्वासको मत नदिने निणर्य गराउनुभएको छ । श्रीमान् श्रीमतीको झगडाले नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।

‘फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निणर्य बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्विप जारी गरिएको व्यहोरा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

तर, संरक्षक चौधरी पक्षका पार्टी उपाध्यक्ष दामोदर पण्डितले विश्वासको मत नदिन र प्रतिपक्षमा बस्न भन्दै विज्ञप्ति निकाल्नुभएको छ । प्रदेशको हकमा भने विभिन्न दलसँग वार्ता गरी सहकार्य गर्न कार्यदल बनाइएको छ। कार्यदलका संयोजक पण्डित तोकिएका छन् ।

‘केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने, प्रतिपक्षमा बस्ने, सरकारलाई समर्थन नदिने र प्रदेश सकारको हकमा वार्ता समितिले विभिन्न दलहरूसँग सहकार्य र समन्वय गरी संवाद अघि बढाउने निणर्य भएको छ,’ विज्ञप्तिमा पण्डितले भन्नुभएको छ ।

पार्टीका संरक्षक चौधरीले पार्टीमा देखिएको विवाद घर झगडा मात्रै हुँदै नभएको दाबी गर्नुभएको छ । ‘आज जिते प्रचण्ड, ओली जित्लान् । भोलि फेरि देउवा जित्लान् । सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो । त्यसैले हामी कसैका पछाडि नलागौं, आफ्नो पार्टी निर्माणमा जुटौं,’ रेशमले फेसबुकमा लेख्नुभएको छ, ‘यो विषय घर झगडा हुँदै होइन, विषय राजनीतिक हो । मैले जानेको बुझेको यही हो । जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो ।’

Share This:
सम्बन्धित खबर
Loading...