विराटनगर, ३० फागुन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई कपोलकल्पित आरोप लगाएर गठबन्धन फेरेको बताउनुभएको छ ।
विराटनगरमा मंगलबार गुराँस पुस्तकालयको ५४औँ वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
कांग्रेसका अन्य नेताहरुले कोशी प्रदेशमा माओवादीलाई मुख्यमन्त्री दिने कुरा गरे पनि आफूले नै माओवादीलाई मुख्यमन्त्री नदिएको नेता कोइरालाले दाबी गर्नुभयो ।
प्रधानमन्त्री दाहालले कोशीमा माओवादीको मुख्यमन्त्री हुनुपर्नेमा कांग्रेसले हुन नदिएको आरोप लगाउनुभएको थियो ।
राजनीतिमा नैतिकता र संस्कारको खडेरी पर्दै गएको भन्दै कोइरालाले अहिले सुदृढ लोकतन्त्रको अभावमा अनेक विकृति र विसंगति देखिएको बताउनुभयो । अबका दिनमा कांग्रेसले प्रभावशाली प्रतिपक्षको भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।
नेता कोइरालाले वर्तमान संविधानमा रहेको निर्वाचन प्रणालीसम्बन्धी व्यवस्थाका कारण यस्तै गठबन्धन बनिरहने र भत्किरहने नियति भोग्नुपर्ने टिप्पणीसमेत गर्नुभयो ।