प्रधानमन्त्री प्रचण्ड, ओली र माधवबीच छलफल

15

काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, प्रधानमन्त्रीले बुधबार संघीय संसदमा लिन लाग्नुभएको विश्वासको मत, आजका लागि तय भएको राष्ट्रियसभा अध्यक्षको निर्वाचनलगायतका विषय रहेका थिए ।

प्रधामनन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाका अनुसार गठबन्धनमा आवद्ध दलहरुबीच राष्ट्रिय विषयमा समान धारणा बनाएर जाने विषयमा प्रधानमन्त्रीले अध्यक्ष ओली र अध्यक्ष नेपालसँग छलफल गर्नुभएको हो ।

यही फागुन २१ गते एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ गठबन्धन बनाउने सहमति भएको थियो । यस्तै, सत्ता गठबन्धनमा एकीकृत समाजवादी पनि समावेश भएको छ ।

सत्तागठबन्धन दलहरुबीच यसअघि भएको ८ बुँदे सहमतिका आधारमा समाजवादी पनि थपिएको सन्दर्भमा आवश्यक निर्णयका लागि छलफल भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...