इलाम, २८ फागुन । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि इलाम-२ बाट उम्मेदवार बन्न नेकपा (एमाले)का ६ जनाले दाबी गरेका छन् ।
उम्मेदवारी दिन इच्छुकका लागि आफ्नो व्यक्तिगत विवरणसहित कार्यदलमा निवेदन दिन आइतबारसम्म समय तोकिएको थियो ।
दिवंगत नेता सुवास नेम्वाङका छोरा सुहाङसहित ६ जनाले उम्मेदवार बन्नका लागि पार्टीको जिल्ला कमिटीले गठन गरेको उम्मेदवार छनोट कार्यदलमा निवेदन दिएका हुन् ।
निवेदन दिनेहरुमा सुहाङ नेम्वाङ, रविन्द्र सुवेदी, डा. देवी क्षेत्री दुलाल, नरेन्द्रनाथ भट्टराई, बुद्धिप्रसाद खनाल र रिपल राई छन् ।
आइतबार साँझसम्म कार्यदलमा ६ जनाको निवेदन आएको सचिव उमेश गुरुङले जानकारी दिनुभयो ।
निवेदन दिनेहरुमध्येबाट कार्यदलले सोमबार कोही एक जनाका लागि सर्वसम्मति खोज्ने प्रयास गर्ने जनाइएको छ । सहमति नजुटेको अवस्थामा चैत ३ गते जिल्ला सचिवालयमा सबैको नाम पेस गरिने छ ।
त्यसपछि पार्टी जिल्ला कमिटीले चैत ५ गतेसम्म उम्मेदवारको नाम केन्द्रीय समितिमा पठाउने छ ।
संविधानसभा सदस्य तथा पूर्वसभामुख सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । उनको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
यसैबीच, वैशाख १५ गते हुने उपनिर्वाचनमा पहिचानवादीको तर्फबाट डकेन्द्रसिंह थेगिम उम्मेदवार बन्ने हुनुभएको छ ।
उक्त क्षेत्रमा अघिल्लो निर्वाचनमा झिनो मतले पराजित भएको कांग्रेसले हालसम्म उम्मेदवार तय गर्न सकेको छैन ।
जिल्ला समितिका एक सदस्यका अनुसार पार्टी सभापति डम्बर खड्का उम्मेदवार बन्ने करिब पक्का भइसकेको छ । गत निर्वाचनमा उम्मेदवार रहेका खड्का नेम्वाङसँग १ सय १४ मतले पराजित हुनुभएको थियो ।
नेम्वाङले ३० हजार २० मत ल्याउनुभएको थियो भने खड्काले २९ हजार ९०६ मत पाउनुएको थियो ।