विराटनगर, २७ फागुन । दिवंगत नेकपा (एमाले) नेता सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवार बन्न पार्टीमा निवेदन दिनुभएको छ । इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदै छ ।
संविधानसभा अध्यक्ष तथा पूर्वसभामुखसमेत रहेका एमालेका उपाध्यक्ष सुवास नेम्बाङको भदौ २६ गते निधन भएपछि रिक्त रहेको इलाम–२ मा उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार बनाउन सुहाङले पार्टीको इलाम जिल्ला कमिटीमा निवेदन दिनुभएको हो ।
उहाँ केही समयदेखि गृहजिल्ला इलाम र उक्त निर्वाचन क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । भेटघाट र अन्तरक्रियामा सहभागी हुँदै उहाँले निर्वाचनका लागि वातावरण बनाइरहेको उहाँनिकट नेताहरुले बताएका छन् ।
बुबाको निधनपछि उहाँले अब आफू पनि राजनीतिमा आउने संकेत गर्दै बुबाको सपना साकार पार्न लागिपर्ने बताउनुभएको थियो । कानुन अध्ययन गरेका सुहाङ कानुन व्यवसायमा केही समयदेखि सक्रिय हुनुहुन्छ ।
एमाले जिल्ला कमिटीले चैत ५ गतेभित्र उम्मेदवार सिफारिस गर्न कार्यदल गठन गरेको थियो ।
सम्भावित उम्मेदवारको नाम कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा बनाइएको कार्यदलमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम सदस्य छन् ।
कार्यदलले चैत ३ गतेसम्म उम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्ने जिम्मेवारी पाएको सचिव गुरुङले जानकारी दिनुभयो ।
उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकले फागुन २७ सम्म आफ्नो व्यक्तिगत विवरणसहित कार्यदलमा इच्छा जाहेर गर्ने पार्टीले समय दिएको थियो ।
गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काविरुद्ध एक सय १४ मतको अन्तरमा नेम्बाङ निर्वाचित हुनुभएको थियो ।