काठमाडौँ, २६ फागुन । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन भन्ने कुरा गलत भएको बताउनुभएको छ ।
शनिबार ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित ‘संघर्षशील योद्धाहरु’ पुस्तक लोकार्पणमा बोल्दै ओलीले अवस्थामा पनि परिवर्तन आएको दाबी गर्नुभयो ।
‘अहिले महिलाहरु मन्त्री, माननीय भइसक्नुभएको छ । ४० प्रतिशत महिलाहरु जनप्रतिनिधि छन् । सरकारी निकायमा ३३ प्रतिशत कार्यान्वयन गरिएको छ । संसदमा कार्यान्वयन गरिएको छ, रोजगारका क्षेत्रमा आरक्षण गरिएको छ,’उहाँले भन्नुभयो ।
महिला जागरण, सशक्तिकरण, आरक्षणका लागि एमालेले प्रभावकारी भूमिका निर्वाह गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले समानुपातिकमा आरक्षण तय गर्दा केही कमजोरी भएकाले त्यसलाई सच्याउनुपर्ने बताउनुभयो ।